Pages

Subscribe:

Rukum

.

Sunday 30 August, 2009

राडी व्यवसायबाट आत्मनिर्भर

कृष्णप्रसाद गौतम
रुकुम, ग्रामीण भेगका महिलाले बुनेका राडीपाखीले राम्रो बजार पाउन थालेपछि उनीहरू राम्रो कमाइ गरेका छन् । विदेशमा समेत माग बढ्न थालेकाले उनीहरू हौसिएका छन् ।
हुकामकी सुभद्रा बुढा राडी -कम्बल) बेचेको पैसाले घरखर्च टर्ने गरेको बताउँछिन् । २०५६ सालमा श्रीमान् कालीबहादुरको माओवादी- सेनाको भिडन्तमा परी मृत्यु भएपछि तीन सन्तानको लालनपालनको जिम्मेवारी उनकै काँधमा परेको थियो । २०६० सालबाट राडी बुनेर सदरमुकाम बस्दै आएकी उनले यसैबाट मुसीकोटमा दुईकोठे पक्की घर बनाएकी छन् ।
तीन छोराछोरीमध्ये दुईलाई सदरमुकामका बोर्डिङ र एकलाई सरकारी विद्यालयमा पढाएकी छन् । उनी सातामा एउटा राडी तयार पार्छिन् । तकसेरा-६ की बिर्मी पुन पनि यसैबाट आत्मनिर्भर बनेकी छन् । एउटा राडीको मूल्य ८ सयदेखि २ हजार रुपैयाँसम्म पर्ने उनी सुनाउँछिन् । 'आम्दानी राम्रो भएकाले राडी बुन्ने पेसा रोजेको,' उनले सुनाइन् । 'मासिक ४ हजारदेखि ७ हजारसम्म आम्दानी हुन्छ,' उनले भनिन्, 'बजारको पनि समस्या छैन ।'
सजिलै बिक्री हुने र राम्रो आम्दानी हुने भएकाले महिलाहरू यो पेसाप्रति आकषिर्त भएका हुन् । भारत र चीनमा समेत यसको निर्यात हुन थालेपछि उनीहरूको व्यवसाय बढेको छ । जिल्लाको उत्तरी भागमा रहेको मगरबस्तीका महिलाहरूले राडी बुनाइलाई पेसा बनाउन थालेपछि भेडाको ऊनको पनि माग बढेको छ । भेडाको ऊनबाट निर्मित राडीपाखीले व्यावसायिकता हासिल गरेको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख सुनिलकुमार शर्मा बताउँछन् । उनका अनुसार घरेलु कार्यालयले वर्षमा एकपटक राडीपाखी बुनाई तालिम सञ्चालन गर्दै आएको छ । तकसेरा र हुकामका आधाभन्दा बढी पुरुष वैदेशिक रोजगारमा छन् ।
Posted on: 2009-08-30 23:57:49 source:kantipur

Thursday 27 August, 2009

मध्यपहाडी राजमार्ग फागुनभित्र पूर्वलाई राजधानी जोड्ने

विकास थापा
काठमाडौं, तराई मधेस बन्द वा चक्काजाम हुँदा राजधानीबाट पूर्वाञ्चल जान अब कुनै समस्या हुनेछैन । बहुचर्चित मध्यपहाडी राजमार्ग -पुष्पलाल मार्ग) अन्तर्गतको खुर्काेट-घुर्मी खण्ड आगामी फागुनदेखि पूरा हुँदैछ । यो खण्ड पूरा भएपछि पूर्वाञ्चलका सबै पहाडी र तराई जिल्ला पुग्न सकिनेछ ।
हाल एक हजार किलोमिटरको पूर्व पश्चिम -महेन्द्र) राजमार्ग मात्र छ । ओखलढुंगा, उदयपुर र सिन्धुलीको सीमा पर्ने घुर्मीदेखि सिन्धुलीको खुर्काेटसम्म ६३ किलोमिटर सडकको ट््रयाक फागुनसम्ममा खोलिसक्ने गरी सडक विभागले निर्माण गरिरहेको छ ।
हाल घुर्मीसम्म उदयपुर, ओखलढुंगा र दिक्तेलबाट गाडी सञ्चालन भइरहेको छ । घुर्मीबाट काठमाडौं आउन मोटरमा तीन घन्टा मात्र लाग्नेछ ।
बनेपा-बर्दिबास राजमार्गअन्तर्गत सिन्धुलीको खुर्काेटसम्म पिच भइसकेको छ । 'यो वर्ष जसरी पनि घुर्मीसम्मको ट्रयाक खोलिसकिनेछ,' मध्य पहाडी राजमार्गका प्रमुख प्रकाश बस्नेतले बताए, 'खुर्काेट-घुर्मी खुलिसकेपछि तराई बन्द हुँदासमेत राजधानीलाई पूर्वसम्म जोड्ने दोस्रो वैकल्पिक मार्ग हुनेछ ।'
गत वर्षदेखि निर्माण प्रारम्भ भएको १ हजार ७ सय किलोमिटर लामो राजमार्गको खुर्काेट-घुर्मी एउटा खण्ड हो । पाँचवटै विकास क्षेत्रका विभिन्न खण्डमा पर्ने ७ सय किलोमिटरको ट्रयाक एकसाथ खोल्ने कार्य भइहेको आयोजना प्रमुख बस्नेतले जानकारी दिए ।
मध्य पहाडी राजमार्गको कुल लम्बाइमध्ये एक हजार किलोमिटर बनिबनाउ छ । यो राजमार्ग सिक्किमको सिमाना नजिक पाँचथरको च्याङथापुबाट सुरु भएर बैतडीको झुलाघाटसम्म निर्माण हुनेछ । यसअन्तर्गत च्याङथापुदेखि इलामसम्म, तेह्रथुमको म्यालुङदेखि वसन्तपुर हुँदै धनकुटाको हिलेसम्म बाटो निर्माण गर्ने लक्ष्य छ ।
हिलेदेखि भोजपुर हुँदै खोटाङको दिक्तेलसम्म र त्यहाँबाट ओखलढुंगाको हिलेपानीदेखि सिन्धुलीको खुर्काेटसम्म सडक निर्माणको प्रस्ताव छ ।
खुर्काेटबाट काठमाडौं-पोखरा- बाग्लुङ र रुकुमको बुर्तीबाङ निर्माण हुनेछ । बुर्तीबाङबाट जाजरकोट-दैलेख कणर्ालीनिरको राकम-मंगलसेन साँफेबगर-डोटी-डडेल्धुरा र बैतडीको झुलाघाट गएर टुंगिनेछ ।
आर्थिक वर्ष २०६६/६७ मा राजमार्गको सबै ट्रयाक खोल्ने लक्ष्य छ । यसको विस्तृत सर्भे पूरा भएको बस्नेतले जानकारी दिए । राजमार्ग निर्माणको कुल लागत २३ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ । कुल लागतमध्ये ट्रयाक खोल्न र पुल निर्माण गर्न १०/१० अर्ब र कालोपत्रे गर्ने ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यसैगरी फिदिम ताप्लेजुङमा पर्ने मेची राजमार्गमा पर्ने गणेशचोकदेखि भारतको सिक्कम जोड्ने ५५ किलोमिटर सडक खण्ड पनि यसै वर्ष पूरा हुने जानकारी बस्नेतले दिए । यो खण्ड सम्पन्न भएपछि पूर्वाञ्चलको इलाम, ताप्लेजुङका उत्पादन सीधै भारत निकासी गर्न सहज हुनेछ ।
चालू वर्षमा करिब ८० किलोमिटर ट्रयाक खोल्न, ७५ वटा पुलेसाहरू निर्माण गर्न, ३ सय मिटर टेवा पर्खाल बनाउन, २० किलोमिटर सडक स्तरोन्नति गर्न २६ वटा ठेक्का प्याकेज भएको छ ।
राजमार्गको सबैभन्दा चुनौतीपूर्ण रहेको २ सय १० किलोमिटर बुर्तीबाङ- मुसिकोट-चौरजहारी खण्ड हो । यो नै अन्तिम ट्रयाक हो । यो ट्रयाक निर्माण भइसकेपछि बैतडीदेखि ताप्लेजुङसम्मका सबै खण्ड पूरा भइसक्नेछन् । आयोजना प्रमुख बस्नेतका अनुसार राजमार्गको ट्रयाक खोल्ने कार्यपछि कालोपत्रे गर्न द्विपक्षीय तथा बहुपक्षीय दाताहरू इच्छुक छन् । विदेशी दातामध्ये यो राजमार्गलाई सहयोग गर्न सबैभन्दा बढी इच्छुक जर्मन सरकार देखिएको छ ।
Posted on: 2009-08-27 22:35:54 Source: Kantipur

विद्यालयमा ताला

रुकुम -कास)- अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच विवादका कारण बाफीकोट ६, काँडास्थित रत्न निम्न माध्यमिक विद्यालय दस दिनदेखि तालाबन्दी गरिएको छ । शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलु खत्री र प्रधानाध्यापक अर्जुनलाल पुरीले मनपरी गरेको भन्दै भदौ १ गते अभिभावकले विद्यालयमा ताला लगाएका हुन् । विद्यालय बन्द भएको दुई साता बितिसक्दा पनि खुलाउनेतर्फ कसैले चासो देखाएको छैन । बन्दले विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयको ताला खोलेर तत्काल कक्षा सुचारु गर्न माग गर्दै बुधबार विद्यार्थीले नाराबाजीसमेत गरेका छन् ।
विद्यालयमा अनियमितता गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकमाथि कारबाही नगरुन्जेल विद्यालय नखोल्ने माओवादीका नेता हरिबहादुर केसीले बताए । प्रधानाध्यापक पुरीले भने कुनै पनि अनियमितता नभएको तर पूर्वाग्रही भएर केही व्यक्तिले विद्यालयमा राजनीति गर्न खोजेको बताए ।
Source: Kantipur

Monday 24 August, 2009

त्यो खाराको खरानी छ उस्तै

२०५६ फागुन १० गते । खारामा चिसो घटेको थिएन । अझ रातैभरि हिउँ परेर डाँडाकाँडा छपक्कै ढाकिएको थियो । हिउँदको वेला त्यति काम नभएकाले गाउँले सबै घरमै थिए । आँखा मिच्दै स-साना पेटहरू बासी ढिडोको पर्खाइमा अगेनावरिपरि झुम्मिँदै थिए । आकाश अघिल्लो रातजस्तै थियो, पृथ्वी आफ्नै गतिमा घुमिरहेको थियो । तर, पूर्ववत् गति र यतिमा त्यहाँ एकाएक झड्का लाग्छ, एकाएक ताण्डव-नाच मच्चिन्छ र घर-आँगन पनि एकाएक मसानघाट हुन्छ ।

यो रुकुमको खाराको घटना हो । अघिल्लो रात सुत्दा कसैले पनि त्यस्तो त्रासद घटनाको कल्पना गरेका थिएन् । तर, हेर्दाहेर्दै त्यो सुन्दर बस्ती एक घन्टामै खरानी-खरानी भयो । १५ जनाको जीवन एउटै चिहान भयो । ७१ घर जलेर खरानी भए । साना नानीले अघिल्लो रात सँगै सुतेका बुबालाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे ।


'गृहमन्त्रीको आदेश छ, कसैलाई पनि नछोड्नू, सबैलाई मास्नुपर्छ,' तत्कालीन इन्स्पेक्टर शम्भु सुवेदी हुकुम दिँदै थिए । गाउँलेहरू आफ्नो मर्ने पालोमा पंक्तिबद्ध थिए । त्यहाँ मारिनेहरू कोही पनि बन्दुक बोकेका र राज्यविप्लव मच्चाएकाहरू थिएनन् । उनीहरू नेपाली कांगे्रसका सक्रिय नेता र कार्यकर्ता भएको प्रमाणित गर्न परिचयपत्र उनीहरूको घाँटीमा झुन्डिरहेको थियो । तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री खुमबहादुर खड्काको आदेशपालकले उनीहरूकै नेता र कार्यकतालाई लाइन लगाएर गोलीले मात्र भुटेनन्, कांग्रेसले नै बाँडेको परिचयपत्र हत्यापछि उनीहरूकै मुखमा कोचिदिए ।


सोही घटनामा गोली लागेका, तर लासको थुप्रोमा लासैजस्तो गरी ज्यान जोगाएका टन्टवीर वलीले खारा घटनाको बखान यसरी नै गरे । त्यतिवेला गाउँमा एकजना छिमेकीको घर बनाउने काम चलिरहेको थियो । 'म त्यहीँ मिस्त्रीको काम गर्थें, बिहान ७ बजे काममा जान लाग्दा गोली चलेको आवाज सुने । खोलापारीबाट प्रहरीहरू गोली चलाउँदै हाम्रो गाउँतिर आउँदै थिए । प्रहरीहरू खोला तरिसक्नेबित्तिकै सुरुकै घरमा आगो लगाउन थाले । घर दनदनी बल्न थाल्यो, मान्छेहरू चिच्याउँदै-रुँदै भाग्न थाले । हामीहरू डरले भित्र पस्यौँ । प्रहरीहरू आगो लगाउँदै माथि गाउँतिर उक्लिए,' उनले भने ।

टन्टवीरका आँखा त्यो दिन सम्झँदै गर्दा आज पनि उत्तिकै रसाएका छन् । 'जन्म दिने बाबु र एउटै कोखबाट जन्मेको दाइलाई आफ्नै अगाडि हत्या गरिँदा कसको मन पो रुन्न र ?' त्यो कहालीलाग्दो दिन सम्भझँदै टन्टवीरले भने, 'गाउँ पूरै खरानी बनाइसकेपछि प्रहरीहरू माथितिर गए, हाम्रो घरतिर आएनन् । हाम्रो घर नजल्ने भयो भन्ने आशा पलायो ।' टन्टविरका बाबु त्यतिवेला कांगे्रसका तर्फबाट वडाध्यक्ष थिए । उनी पनि कांगे्रसका सक्रिय कार्यकता थिए । 'बुबाले हामी सरकारका मान्छे हौं, कांग्रेसकै सरकार छ, केही गर्दैन, सबै परिवार सँगै बसौँ भन्नुभयो । सबैजना एकै ठाउँमा बसेका थियौं । दिनको १२ बजतिर प्रहरीहरू हाम्रो घरतिर ओर्लिए । ठुल्दाइ गोबर बोकेर खेतमा जान लाग्नुभएको थियो । प्रहरीको नाइकेले दाइलाई यहाँ आउनुहोस् भनेर बोलायो । त्यसपछि मलाई पनि बोलायो र लाइनमा बस्न भनियो । वरपरका घरबाट लोग्ने मान्छे जति तानेर लाइनमा बसायो । बुबाले हामी सबैलाई कांग्रेसको परिचयपत्र बनाइदिनुभएको थियो । त्यो दिन हामीले परिचयपत्र आ-आफ्नो घाँटीमा झुन्डाएका थियौं ।'

टन्टवीरलाई त्यस दिनको घटना सपनाजस्तो लाग्छ । गोलीले क्षतविक्षत लासका थुप्रा अहिले पनि उनको आँखामा झल्झली आउँछ । उनले भन्दै गए, 'हामीले सबैले परिचयपत्र झुन्डाएका थियौं । सबैभन्दा अगाडि बुबा हुनुहुन्थ्यो, त्यसपछि ठुल्दाइ, अनि म र क्रमशः मेरो पछाडि अरू थिए । बुबालाई प्रहरीको नाइकेले गोली ठोक्ने आदेश दियो । बुबाले प्राणको भीख माग्दै नमस्कार गरिरहनुभएको थियो । तर, नमस्कार गरेकै हातमा गोली हान्यो, बुबाका दुवै हात उडे, उहाँ ढल्नुभयो । मैले बाँच्ने आशा देखिनँ, होसहवास् उड्यो । क्रमशः गोली हान्दै आयो, ठुल्दाइ निधारमा गोली लागेर ढल्नुभयो । मेरो पालो आयो, वरिपरिका रूखहरू घरहरू घुमेजस्तै लाग्न थाल्यो । एउटै प्रहरी दसवटा देख्न थालेँ । ड्याम्म आवाज आयो । पाखुरामा केले छेडेको जस्तो लाग्यो, दाइको लासमाथि घोप्टिएँ, बुबा पानी भन्दै छट्पटाउँदै हुनुहुन्थ्यो । गोली क्रमशः अरूलाई हानियो । नाइकेले भन्यो, 'सबैलाई दोहोरो गोली हान्, कोही मरेका छैनन् ।' धेरै शरीर ममाथि घोप्टिएका थिए । फेरि दोहोरो गोली हानेर बुबालाई मार्‍यो, र परिचयपत्र मुखमा कोचिदियो । मलाई पनि मर्‍यो कि मरेन भनेर छामे । म मरेको जस्तै गरेर लासको थुप्रोमै घोप्टिरहेँ । छाम्नेवाला प्रहरीले सबै मरिसके गोली किन त्यसै खर्च गर्ने भनेपछि प्रहरीहरू गए ।'

'गाउँमा घरहरू जलेको धुवाँले आँखा देखिँदैनथ्यो । एकैछिन् पछि मुसिकोटबाट आएको हेलिकोप्टर धुवाँले गर्दा बस्न नसकेर फर्क्यो,' टन्टावीरले भने, 'त्यसपछि म बिस्तारै उठे । मेरो पाखुराको कुमबाट रगत बगिरहेको थियो । आमाले रुँदै गोली लागेको ठाउँमा कपडा बाँधिदिनुभयो । प्रहरी गएपछि गाउँलेहरू आए र रगत नरोकिएको मेरो हातलाई डोरीले दलिनमा झुन्डाएर भुइँमा सुताए । रगत चुहिने ठाउँमा कपडा थापिएको थियो । रातभरि आमाले घाउमा तेल र बेसार लगाउनुभयो । रगत चुहेर म पल्टेको ठाउँ आहाल परेको थियो । बुबा र दाजुको लास नउठाउन्जेल हामी कसैले केही खाएनौँ । पाँचौं दिन गाउँलेले लासहरू गाडे ।'

हत्याका लागि तयार पारिएको लाइनबाट भागेर बाँच्न सफल भएका थिए- नरबहादुर वली । त्यही दिन उनको आफ्नो छोरा लालबहादुर वलीको हत्या भएको थियो । उनले भने, 'गाउँमा प्रहरीले केही दिनअघिदेखि नै गस्ती गरिरहेको थियो । गाउँका कुखुरा, घ्यू, मह सबै लुटिएको थियो ।' तर, त्यस दिन भने प्रहरी एकाबिहानै गोली चलाउँदै गाउँमा पस्यो । अघिल्लो दिन हिउँ परेकाले बाहिर निस्कन गाह्रो थियो । 'परिवारका सबैजना अगेनावरिपरि बसेका थियौं । प्रहरी खोलावारि आगो झोस्दै उक्लियो । केही समयमै पूरा गाउँ खरानी भयो । घरभित्रका पैसा अन्नपात सबै जलिसकेका थिए । दस बजेतिर माथि डाँडामा हेलिकोप्टर बस्यो । प्रहरीले गाउँबाट लगेका कुखुरा र रक्सी खाएछन् ।'

वलीले भने, 'भोलिपल्ट १२ बजेतिर प्रहरी गाउँमा आयो म भैसी चराउँदै थिएँ । एकजना प्रहरीले मलाई बोलायो र राइफलको कुन्दैकुन्दाले हान्यो । डोप्याउँदै लगेर मलाई पनि लाइनमा लगायो । र, गोली हान्न थाल्यो । सकिन्छ भने भाग्नुपर्छ, आखिर मर्नु नै छ भने । मैले यस्तै ठानेँ र पछाडि फर्केर आँखा चिम्लेर भागेँ । केही प्रहरीहरू मेरो पछाडि गोली हान्दै दौडिए । अल्लि तल पुगेर म बाँसको झाडीभित्र कोचिएँ र बाँचे । बाँसको झाडीबाट निस्केर घरतिर लाग्दै गर्दा प्रहरीहरूले गाउँ छोडिसकेका थिए । गाउँलेहरूको लासको थुप्रो थियो, रगतको आहाल थियो । हामी गाउँलेहरू राति नै सदरमुकाम गयौँ । सदरमुकाममा प्रहरीले खाराका माओवादी भन्दै बन्द कोठामा कोचेर सबैलाई चुट्नसम्म चुट्यो । रातभरि सिमेन्टमा नांगै सुतायो । हामीलाई भोलिपल्ट फेरि खारातिर लखेटिदियो ।'

त्यस दिन हेलिकोप्टरले ओसारेका प्रहरी गाउँमा मात्र होइन्, जंगलभरि थिए । दुईजना गोठाला पनि मारिए । गोरुको आड लिएर बाँचेकी पार्वती खड्का भन्छिन्, 'हेलिकोप्टरले चारैतिरबाट गोली बर्साउन थाल्यो, दुईजना साथी र गाई-गोरु हेलिकोप्टरको निसाना परेर ठहरै भए । होसहवास थिएन । चार हातखुट्टा टेकेर घरमा आइपुग्दा श्रीमान्को हत्या भइसकेको रहेछ ।'

त्यस दिनको समाचार रेडियो नेपालले पनि प्रसारण गरेको थियो, मुठभेडमा १५ जना माओवादीको मृत्यु भएको र हातहतियार बरामद भएको भन्दै । खारा घटनामा कांग्रेसका वडाध्यक्ष त्रिमान वली, पार्टी सदस्यहरू धनबहादुर वली, देउमाया खत्री, गोपाल खत्री, लालबहादुर खत्री, टीकारम खत्री, हेमन्त खत्री र सर्वसाधारण गाउँलेहरू गोविन्द खड्का, देवीलाल, खर्कबहादुर, भद्रबहादुर, लक्ष्मी, लालबहादुर, प्रवीण खड्काको हत्या भएको थियो । २०५६ सालमा दनदनी बलेको खारामा अहिले समयको मलमबाहेक अरू केही सुख-शान्ति छैन । गाउँलेहरूले अहिलेसम्म न त राज्यबाट क्षतिपूर्ति पाएका छन्, न त राहत नै । गोली हान्न आदेश दिनेहरूको चुरीफुरी उस्तै छ । तर, खाराबासीको एक्लोपन र चिसो चुल्हो जस्ताको तस्तै छ । खरानी पारिएका घरहरू अहिलेसम्म व्यवस्थित हुन सकेका छैनन् ।

बितेको दशकको कहानी छ उस्तै

हेर, त्यो खाराको खरानी छ उस्तै !


Source: Naya Patrika(23/08/2009 07:46:00 शान्ता अधिकारी)

Sunday 23 August, 2009

चन्दाबाट विद्यालय

रुकुम -कास)- छिवाङ गाविसका दर्जन विद्यालय स्थानीयवासीको चन्दाबाट सञ्चालन भएका छन् । विद्यालयको भौतिक पूर्वाधार सुधार र शिक्षकको तलबका लागि बासिन्दाले घरघरबाट चन्दा उठाएका हुन् ।
स्थ्ाानीय झिमडाँडामा विद्यालय नभएका कारण गाउँले मिलेर चन्दा उर्ठा विद्यालय चलाएको स्थानीयवासी मानबहादुर ओलीले बताए । 'विद्यालयमा एकै जना सरकारी दरबन्दी छैन,' ओलीले भने, 'दैनिक सञ्चालन र र शिक्षकलाई तलब खुवाउन चन्दा अभियान सुरु गरेका हौं ।'
ज्ञानकुञ्ज प्राथमिक विद्यालय सादनचौर चौतारा सञ्चालनको मुख्य स्रोत देउसीभैलो र चन्दा भएको प्रअ काशीराम ओलीले जनाए । प्रअले भने, 'विद्यालय पूर्वाधार व्यवस्थापनका लागि प्रत्येक महिना अभिभावकबाट चन्दा लिने गरेका छौँ ।'
गाउँलेकै जनश्रमदानबाट ज्ञानपुञ्ज प्राविको तीनकोठे भवन निर्माण गरिएको अध्यक्ष छिताराम रावतले बताए । यस्तै जनजागृति प्रावि घुयालडाँडामा पनि स्थानीयकै चन्दाबाट तीनकोठे भवन निर्माण भएको छ ।
Source: kantipur

२४ बालबालिकाको मृत्यु

रुकुम -कास)- जिल्लामा दुई महिनादेखि महामारीको रूप लिएको झाडापखालाबाट २४ बालबालिकाको मृत्यु भएकोे छ । बालमजदुर सरोकार केन्द्र -सिविन) रुकुमले शुक्रबार २४ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्लाको गोतमकोटबाट सुरु भएको झाडापखाला जिल्लाका ३० गाविसमा फैलिएको रोगबाट आधाभन्दा बढी बालबालिका प्रभावित भएको संस्थाले जानकारी दिएको छ । खाद्य अभाव भएपछि ती क्षेत्रका बासिन्दाले पेटभरि खान नपाएपछि कुपोषित भएका बालबालिकालाई रोगले बढी संक्रमित गरेको हो । मृत्यु हुनेमा पनि अधिकांश बालबालिका विद्यालय जाने उमेरका रहेको सिविन रुकुमका टिम लिडर सिद्धराज पनेरुले बताए ।
यसैगरी दूषित पानीको प्रयोगले अझै पनि बालबालिकालाई रोग दोहोरिन सक्ने खतरा भएको पनि कार्यक्रममा जानकारी गराएको थियो । सिविनका अनुसार झाडापखालाबाट जिल्लामा ४ हजार बढी बालबालिका प्रभावित छन् ।
Source:Kantipur

Friday 21 August, 2009

नदीमा पौडिँदै विद्यालय

कमल थापा/नयाँ पत्रिका

रुकुम, ३ भदौ : विद्यालयबाट घर र्फकेलगत्तै विद्यार्थीको मनमा प्रार्थना हुन्छ, 'हे भगवान् भरे राति पानी नपरोस् !' पानी परेपछि नदी बढेर विद्यालय जान गाह्रो हुने भएकाले उनीहरू यस्तो प्रार्थना गर्छन् ।
विद्यालय गएको समयमा बाढी आएमा अरूकै घरमा बास माग्नुपर्ने बाध्यता व्यहोर्दै आएका छन्, गरायला र झुल्ाा गाविसका विद्यार्थीले । गाउँमा माध्यमिक तहको पढाइ नभएका कारण ती विद्यार्थी वषर्ायामको नदीमा पौडिँदै छिमेकी गाविस छिवाङको महेन्द्र उच्च माध्यमिक विद्यालय जान्छन् ।
विद्यार्थीका लागि नागबेली भएर बगेको सानोभेरी नदी बाधक भएको छ । हिउँदको समयमा नदीमा पानीको मात्रा घट्ने भएकाले साँघु तरेर विद्यालय आवत-जावत गर्दै आएका विद्यार्थी वषर्ायाममा कम्मरमा 'चिन्ना' र ड्रम भिरेर विद्यालय जाने गरेका छन् । कपडा खोलेर किताब र खोलेका कपडा टाउकोमा बाँधी नदी तर्दा छात्रलाई भन्दा छात्रालाई बढी समस्या हुने गरेको छ ।
'केटाहरूले हाफपेन्ट लगाएर खोलामा पस्छन्, हामीलाई समस्या पर्छ,' दस कक्षामा अध्ययनरत भिमा पुनले भनिन्, 'पानीले भिज्ने भएकाले दुईजोर कपडा लिनुपर्छ ।'
नदीमा बाढी आए विद्यालय जान नसकिने र गए पनि साँझ कसैको घरमा बास माग्नुपरेको उनले दुखेसो पोखिन् ।
गरायला र झुला गाविसका ६० भन्दा बढी विद्यार्थी सानोभेरी नदी तरेर महेन्द्र माध्यमिक विद्यालय जाने गरेका छन् । विद्यार्थीहरूका अनुसार आजभोलि चिन्ना र ड्रम नभिरे तर्न सकिँदैन । हिउँदमा काठको साँघु बनाएर तर्ने विद्यार्थीलाई वषर्ायाममा त्यो सम्भव हँुदैन ।
सामान टाउकामा बाँधेर नदी पार गर्दा कहिलेकाहीँ कापी-कलम बगाएर रित्तै विद्यालय जाने गरेको उनीहरू बताउँछन् । कापी-कलम भिज्ने, जुत्ता-चप्पल बग्ने, भेलले पछार्दा खुट्टा फुट्ने, नङ जाने उनीहरूका लागि नियमित नै हो ।
जोखिमको यात्रा गरेर पढ्नुपर्ने हुनाले धेरै विद्यार्थीले पढाइ छाड्ने गरेको स्थानीय अभिभावक शशिराम विष्टले बताए । त्यस नदीमा ०५२ सालमै पुल बन्ने भनिए पनि द्वन्द्वका कारण गाउँमा बजेट जान नसक्दा यस्तो समस्या आइपरेको अभिभावक विष्टको भनाइ छ ।

Thursday 20 August, 2009

मूल्यवान् जडीबुटी भए मूल्यहीन

सुरेन्द्र खत्री/मुसीकोट
रुकुम, भदौ १ गते । रुकुम जिल्लामा जडीबुटीको सम्भावना हुँदाहँुदै पनि यसको उचित संरक्षण र प्रशोधनको व्यवस्था हुन सकेको छैन ।
रुकुम जिल्लाको सिस्ने गाविसमा पर्ने सिस्ने हिमालको काखमा रहेको जडीबुटीको धनी र सम्पन्न क्षेत्र मानिन्छ । यस जिल्लामा दुर्लभ तथा मूल्यवान् र अतिउपयोगी एवं लोकपि्रय जडीबुटी पाइन्छन् ।
तर, विडम्मना नै मान्नुपर्छ हामीले हाम्रा जडीबुटीको महत्त्व बुझ्न सकेका छैनाँै । विज्ञ तथा सरोकारवाला निकायहरूले यससम्बन्धमा ठोस कदम नै चाल्न सकेका छैनन् रुकुम जिल्लाका मूल्यवान जडीबुटीहरू त्यसै खेर गइरहेका छन् कतिपय जडीबुटीहरू एकदमै कम मूल्यमा बाहिरिएका छन् तर तिनै जडीबुटीबाट बनेका विदेशी औषधिहरू किन्न लाखौँ रुपियाँ खर्च गर्न परिरहेको छ ।
यस जिल्लाको केही जडीबुटीहरू दलालको माध्यमबाट निकै सस्तो मूल्यमा बिक्रीवितरण भइरहेको छ । रुकुम जिल्लामा पाइने जडीबुटीहरूमा यार्सागुम्बा, पाँचऔले, कटकटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरो, सुगन्धको सिलाजित, लताकस्तुरी, पाकनवेदजस्ता दुलर्भ जडीबुटीहरू यस जिल्लाका प्रशस्त मात्रामा पाइन्छन् यहाँ पाइने जडीबुटीहरूको आर्थिक महत्त्वबारे स्थानीयबासीहरू अनविज्ञ रहेको पूर्णबहादुर केसीले जानकारी दिनुभयो ।
प्रसस्त मात्रामा स्थानीय बैद्यहरू भएको यस जिल्लामा करिब दुई तिहाई जनसङ्ख्या स्वास्थ्य उपचारार्थ आयुर्वेदिक चिकित्सक पद्धतिमा नै निर्भर रहेको देखिन्छ । जिल्ला विकास रुकुमको एक तथ्याङ्क अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडीबुटीमा यार्सागुम्बा, कुरिलो, टिम्मुर, सेतावाज, जटामसी, भलायो, बुकिफूल, लचिनि, अमला, तितेपाती, पाँचऔले, साधारण च्याउलगायतका रहेका छन् ।
यस जिल्लामा पाइने जडीबुटीहरू अत्यन्तै दुर्लभ एवं अमृततुल्य मान्यका यार्सागुम्बा, पाँचऔले कस्तुर, सिलाजित आदि दिनप्रतिदिन असुरक्षित भई लोप हुने प्रक्रियामा रहेका छन् ।
जिल्लाको हुकाम मैकोट, जानसिस्ने गाविसमा यार्सागुम्बा पाइने क्षेत्र मानिन्छ । वास्तवमा भन्ने हो भने रुकुमजस्तो विकट जिल्लामा पाइने जडीबुटीहरू अवैध बिक्रीवितरण भइरहेका छन् । जडीबुटीको चोरीनिकासी भइरहेको छ । यसको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।
जडीबुटी खेतीलाई प्रोत्साहान गरी यसको खेतीलाई सामाजिक अभियानको रूपमा सञ्चालन गर्दै जडीबुटीको भण्डार गर्न हामी सबैको दायित्व हो । रुकुमजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्ने हो भने आजैदेखि हामीले योजना बनाइ कार्यान्वयन गर्नुपर्दछ ।
रुकुममा जडीबुटी विकास सम्बन्धमा यहाँ कुनै किसिमको सरकारी तथा गैरसरकारी निकायबाट संरक्षण र सम्बर्द्धनको लागि कुनै प्रक्रिया अपनाइएको छैन ।
रुकुम जिल्लाको आर्थिक विकार एवं सम्पन्नतालाई गति दिन एकातर्फ दुर्लभ महत्त्वपूर्ण जडीबुटीहरूलाई संरक्षण र संम्बर्धन गर्न आवश्यक छ प्रशोधन केन्द्रको स्थापना गरी जडीबुटी तथा लघुवन पैदावारको माध्यमबाट रोजगारको अवसरहरू सिर्जना गर्ने हो भने रुक्मेलीहरू विदेशिनु नपर्ने स्थानीयबासी धनबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले यसको लागि जनचेतना वृद्धि गराउनुको साथै व्यवस्थित रूपमा सङ्कलन र जडीबुटी खेतीसम्बन्धी प्रविधि विकासको अति आवश्यक भइरहेको महसुस गरेका छन् ।
अनुसन्धानको कमिले सही प्रयोग हुन सकेको छैन । कुन जडीबुटी कति महìव छ केही जानकारी छैन परिश्रममा कति लगानी भएको छ दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ यस विषयमा कुनै सर्भेक्षण हुन सकेको छैन भने जडीबुटीसम्बन्धी ठोस नीतिनियम तथा कार्यक्रमको अभाव छ ।
जैविक विविधता ह्रास हँुदैछ । दिनानुदिन वनजङ्गल मासिदै छन् सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडीबुटीको व्यवस्थापन र यसलाई निरन्तरता दिँदै व्यवस्थित रूपमा सङ्कलन तथा खेती विस्तार गरे अत्याधिक मात्रामा आयआर्जन वृद्धि गरी सम्पन्नतालाई बढाउन जडीबुटी विकासलाई बढाउँदै लैजाने हो भने रुकुम जिल्ला न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्न टेवा पुग्ने थियो कि ?
source: Gorkhapatra

मूल्यवान् जडीबुटी भए मूल्यहीन

प्रहरीद्वारा बजारमै पिटिए शिक्षक

रुकुम/ जनताको सुरक्षा गर्न खटिएका प्रहरीले विनाकारण शिक्षकलाई मराणासन्न हुनेगरी कुटेका छन् । रुकुम बाँफीकोटस्थित चौकीका प्रहरी सहायक निरीक्षक -असई) लोकेन्द्र कार्कीले शंकर प्राथमिक विद्यालय बाँफीकोटका शिक्षक यज्ञबहादुर चन्दलाई नेटाबजारमा कुटपिट गरेका हुन् ।

असईको कुटाइबाट गम्भीर घाइते भएका शिक्षक चन्दलाई उपचारका लागि जिल्ला अस्पताल रुकुममा भर्ना गरिएको छ । सदरमुकामबाट घर र्फकने क्रममा पसलमा बसिरहेको वेला एक्कासि कुटपिट गरेको पीडित शिक्षक चन्दले बताए ।

'थकाइ मेट्न एकैछिन दाइको पसलमा बसेको थिएँ, दुईजना अपरिचित व्यक्ति आएर मेरो घर सोधे । त्यसलगत्तै पसलभित्रै हिर्काउन थाले,' घाइते शिक्षक चन्दले भने, 'सादा पोसाकमा भएकाले पछि मात्र प्रहरी भएको थाहा पाएँ ।'

कुटपिटबाट बेहोस भएका चन्दलाई स्थानीय बासिन्दाले बोकेर जिल्ला अस्पतालमा भर्ना गरेका थिए । 'रक्षक नै भक्षक भएपछि हामीलाई कसले सुरक्षा दिने ?' चन्दको गुनासो छ ।

शिक्षक चन्दको दायाँ आँखामा गहिरो चोट लाग्नुका साथै शरीरभरि बुटले हानेका नीलडाम छन् । चन्दलाई एक सातासम्म अस्पताल भर्ना गरिने उपचारमा संलग्न जिल्ला अस्पताल रुकुमका प्रमुख डा.विनोद गिरीले बताए ।

प्रहरी ज्यादतीविरुद्ध स्थानीयवासीले बुधबार दिनभर नेटाबजारमा विरोध र्‍याली र कोणसभा गरेका थिए । कुटपिटमा संलग्न भनिएका प्रहरी सहायक निरीक्षक कार्की दोषी ठहरिएमा कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ धानुकले बताए ।

दबाबले घाउ केस भएन

असई कार्कीबाट निर्घात पिटिएका शिक्षक चन्दको घाउ केस गरिएको छैन । तीन दिनदेखि जिल्ला स्वास्थ्य कार्यालय रुकुममा उपचारका लागि भर्ना गरिएका शिक्षक चन्दले प्रहरी दबाबका कारण घाउ केस नगरिएको बताए ।
Source: naya patrika

Wednesday 19 August, 2009

झाडापखालाले थप ६ को मृत्यु

रुकुम -कास)- जिल्लामा झाडापखालाले बुधबार ३ तीनको मृत्यु भएको छ । स्यालाखदी ६ का ७ वषर्ीय बलवीर बुढा, गोतामकोट ३ का १८ वषर्ीया प्रेमकुमारी बिष्ट र आठबिसडाँडा गाउँ ३ का ३ वषर्ीय यज्ञबहादुर

शाहीको मृत्यु भएको हो । जिल्लामा झाडापखालाले मृत्यु हुनेको संख्या ५८ पुगेको छ त्यस्तै दैलेखमा बुधबार थप दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा लयाटी बृन्दासैनी-५ की ५ वषर्ीया देविसरा नेपाली र नारायण नगरपालिका-३ का ४८ वषर्ीय नौले सार्की रहेका छन् । सार्कीको झाडापखालाबाट मृत्यु भएका आफन्तको संस्कारमा खरीगैडा गएको बेला त्यहीँ निधन भएको हो । जिल्लामा झाडाका कारण २५ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी डोटीमा पनि झाडापखालाका कारण थप १ व्यक्तिले ज्यान गुमाएका छन् । स्थानीय छपाली गाविस ४ रोकाया गाउँकी रोकाय थरकी एक महिलाको झाडापखालाले मृत्यु भएको हो ।

मृतक नाथे रोकायकी श्रीमती हुन् । पखालाले च्यापेपछि उनलाई उपचारार्थ हेल्थपोस्ट लग्दै गर्दा मृत्यु भएको थियो । उनीसहित डोटीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
Source:Kantipur

Saturday 15 August, 2009

झाडापखाला नियन्त्रणमा लागेका सभासद् नै प्रभावित

रुकुम, (नेस) झाडापखाला नियन्त्रण गर्न भनी काठमाडौंबाट विमान चढेर रुकुम पुगेका एकीकृत माओवादीका सभासद् आफैँ झाडापखालाबाट प्रभावित भएकी छन्।


सभासद् कमला रोकाको नेतृत्वमा जिल्लाको पुर्तिमकाँडा, गरायला, सिम्ली, अर्मा, खोलागाउँलगायतका गाविसमा एकीकृत जनस्वास्थ्य अभियान तथा झाडापखाला नियन्त्रण गर्न भनी गाउँ पसेको थियो। सभासद्को टोली पुर्तिमकाँडा पुग्दा शुक्रबार बिहान सभासद् रोकालाई झाडापखाला भएपछि स्थानीय मेडिकलमा सामान्य उपचार भएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाको सुरक्षामा खटिएका प्रहरी तथा इलाका प्रहरी कार्यालय पुर्तिमकाँडाका प्रहरी टोलीले रोकालाई स्थानीय बाँसको स्टेचर बनाएर उपचारका लागि चौरजहारी पुर्याएका थिए। टोलीको नेतृत्व गरेकी सभासद् रोकालाई झाडापखाला लागेपछि रोकासँग रहेका अन्य माओवादी कार्यकर्ताहरू झाडापखाला नियन्त्रण अभियान छोडेर सभासद्को उपचारमा खटिएका छन्।
Source:Nepal Samacharpatra

Sunday 9 August, 2009

बाबुराम भट्टराईको जाजरकोट यात्रा

म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्‍यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट पुगियो । यी दुईवटा जिल्लाको भ्रमणबाट के देखा पर्‍यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् । साथै विसौं हजार जनताहरु रोग र महामारीबाट पीडित छन् । जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित र २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ ।

बाहिरी रुपमा हेर्दा झाडापखालाको महामारीले मान्छे मरेको भनिए पनि मुख्य रुपमा त्यहाँको गरीबी, भोकमरी, दुषित पानी र खडेरीको प्रभावबाट अधिकांश मान्छेको ज्यान गएको हामीले थाहा पायौं । मर्नेमध्ये धेरैजसो दलित, विकट वस्तीका जनता र असाध्यै गरीबहरु हुनुले पनि के पुष्टि गर्छ भने रुपमा यो झाडा-पखाला भनिए पनि सारमा यो गरीबीको कारणले सिर्जित भोकमरीनै मृत्युको मुख्य कारण भएको बुझियो ।

यसक्रममा सवभन्दा दुःखद पक्ष के हो भने गणतन्त्र नेपालको स्थापना भैसकेपछि पनि हामीले ठूला विकास निर्माणका कुरा त गर्‍यौं तर ती विकट गाउँमा वास्तवमै कसैको ध्यान पुगेको छैन । जनता अहिले पनि गरीवी, वेरोजगारी र भोकमरीले मरिरहेको अवस्था छ । प्रत्यक्ष त्यहाँ पुगेर हेर्दा खासगरी मजकोटको पराले गाउँमा जुन खालको कुपोषणबाट मान्छे ग्रसित छन्, दरिद्रता, गरीवीपन आम रुपमा त्यहाँ देखा पर्दछ, त्यहाँ गरीवीको चरम रुप हामीले देख्यौं । त्यसैले हामीहरुलाई यो एक्काइसौं शताव्दीको नेपाल हो भनेर भन्न पनि साह्रै लज्जावोध भयो ।

५० वर्षदेखि विकास निर्माणका कुराहरु गर्ने, शहर-बजारका पाँचतारे होटलमा बसेर गोष्ठीहरु गर्ने र गरीवको नाउँमा खरवौं रुपियाँको ऋण देशलाई बोकाउने काम भएको छ । अहिलेसम्म हाम्रो झण्डै चार खर्वको विदेशी ऋण भैसकेको छ । तर बहुसंख्यक गाउँमा बस्ने जनता भोकले मर्न बाध्य छन् । त्यसले गर्दा हाम्रो राज्यसत्ता कति शोषणमूलक छ भन्ने कुरा प्रत्यक्ष प्रमाणित हुन्छ । त्यसो त हामीले १० वर्ष जनयुद्धको क्रममा यिनै गाउँ-ठाउँका जनताका वीचमा रहेर काम गरेको हुनाले त्यहाँको पछौटेपन, गरीवी, शोषण-उत्पीडनबाट हामी अनभिज्ञ थिएनौं । त्यसैले तिनै गरीव जनताको निम्ति एउटा विद्रोहको अगुवाइ हामीले गरेका थियौं । ती बिपन्न जनताले हामीलाई साथ दिएका थिए । तर अहिले गणतन्त्रको स्थापना भैसकेपछि पनि गाउँमा रहने ती जनताको पक्षमा व्यवहारिक रुपले काम हुन सकेको छैन । अलिकति काम हामीले आठ महिने शासन कालमा गर्न खोज्यौं । गत वर्षको बजेटमा अलि गाउँ केन्दि्रत जनमुखी बजेट जुन बनाउने प्रयास गर्‍यौं, त्यसलाई समेत उल्टाएर अहिले फेरि उनै टाठा-बाठा, उही एन्जी.ओ./आई.एन्.जी.ओ मार्फत् काम गराउने परिपाटि बसालिएको छ र अग्रगमनको प्रक्रियालाई रोकेर पश्चगमनतिर फर्काउने कोशिस गरिएको छ । त्यसले बहुसंख्यक गाउँमा बस्ने गरीव, दलित, जनजाति जनताको मुक्ति हुने हामीले कहीं कतै देख्दैनौं ।

रुकुम-जाजरकोटको हाम्रो भ्रमणपछि नेपालमा क्रान्ति अझै पूरा नभएको हामीले गम्भीर रुपमा महशुस गर्‍यौं । ती बहुसंख्यक उत्पीडित जनताले अहिले फेरि नयाँ ढंगले आÏनो विद्रोहलाई जारी नराख्ने हो भने राज्यसत्ता फेरि पुरानै युगतिर र्फकने गम्भिर खतरा हामीले देख्यौं । खाशगरी केही समय देखि देशमा गम्भीर खालको सैनिक सर्वोच्चता कायम भइराखेको छ । देशी र विदेशी प्रतिगमनकारी शक्तिहरुद्वारा उही हिजोका दरबारपरस्त तत्वहरु, राजाको माघ १९ पछिको कालमा मन्त्री भएका मान्छेहरु र चुनाव हारेका मान्छेहरुको गठवन्धन र कठपुतली सरकारको निर्माण गरिएको छ । त्यसले चाहिं भोकानांगा जनताको साँच्चै नै उपहास भएको छ भन्ने मलाई वोध भएको छ ।

यो भ्रमणपछि फेरि क्रान्तिकारी आन्दोलनलाई एउटा नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने लागेको छ । देशका बहुसंख्यक जनताको साँच्चै मुक्ति हामीले चाहने हो भने अहिलेको जुन अधुरो क्रान्ति र परिवर्तन छ यसलाई पूर्णतातिर लानै पर्दछ । ती जनतालाई सम्झेर फेरि एउटा त्याग र वलिदानीपूर्ण तरिकाले परिवर्तनलाई पूर्णतामा लैजाने ढंगले काम गरेनौं भने देशमा प्रतिगमन हावी हुनेछ । जुन दिशामा अहिले देश गैराखेको छ, त्यसले बहुसंख्यक जनताको हित गर्दैन भन्ने कुराको पूरा दृढ विश्वास वोकेर हामी फर्किएका छौं ।

अहिले तत्कालै ती भोकमरी र झाडापखलाको महामारीबाट पीडित जनताको राहतको निम्ति सरकारले केही गर्नु पर्दछ । त्यसमा हामीले आवाज त उठाउँला । तर त्यतिले मात्र पुग्छ भन्ने हामीलाई लाग्दैन । किनभने यो सरकार कति असंवेदनशील मात्र होइन कि कति पाषाणहृदयी छ भने शहर-बजारका मान्छे सामान्य दुर्घटनामा परेर मर्‍यो भने सडक अवरुद्ध गरेर १० लाखको क्षतिपूर्ति राहत लिने गर्दछन् । तर कठपुतली सरकारका प्रधानमन्त्रीले ती ठाउँहरुमा गएर प्रत्येक मृतक परिवारलाई १० हजार राहत दिने जुन हास्यास्पद घोषणा गरेर आए त्यसले गरीव जनताको घोर अपमान भएको वोध हामीलाई भएको छ । सामान्य दुर्घटनामा मर्नेले १० लाख पाउने तर सरकारको लापरवाही र गलत नीतिको कारणले ज्यान गुमाएका गरीव जनताको निम्ति १० हजार रुपियाँ राहत दिने कुरो सरासर अमानवीय र अन्यायपूर्ण हो । यस्ता खालका असंवेदनशील मानिसहरुबाट यी बहुसंख्यक गरीव जनताको हित हुन्छ भन्ने मलाई पटक्कै लागिराखेको छैन । त्यसैले यो भ्रमण पश्चात् नेपालमा फेरि आमूल परिवर्तनको ऐजेण्डालाई नयाँ ढंगले उठाउन जरुरी छ भन्ने मलाई वोध भएको छ ।

हाम्रा गरीब नेपाली जनता यति महान् छन्, यति धैर्यशील छन्, अहिले पनि त्यति दुःख-कष्ट सहेर बस्दाबस्दै पनि उनीहरु आशावान छन् । अहिले पनि केही हुन्छ भन्ने उनीहरुको धैर्यता देख्दा मलाई एकापट्टि उनीहरुप्रति असाध्यै सम्मानको भाव जाग्छ भने अर्कोपट्टि ती सोझा निमुखा जनताको जुन एउटा विश्वास र सम्मान छ त्यसलाई धोका दिएर शासनसत्ता चलाउनेहरुप्रति घृणा जागेर आएको छ । उनीहरुले धेरै पनि होइन सामान्य दुई छाक पेटभरि खाना मात्र पाउँदा, शुद्ध पानी मात्रै पीउन पाउँदा, विरामी भएको वेला न्यूनतम औषधी पाउँदा मात्रै पनि उनीहरुलाई चित्त बुझ्छ । तर त्यति पनि हामीले गर्न सकिराखेका छैनौं ।

हामीले देख्यौं त्यहाँका स्वास्थ्य चौकीको यस्तो वेहाल अवस्था छ, छानो पनि छैन, वर्षामास खुला चौरमा चिसो भुईमा सुताएर सलाइन चढाई राखेको छ, कतिपय ठाउँमा सलाइन पानीसम्म पुग्या छैन ।

हामीले जाजरकोटका सीडिओसंग कुरा गर्ने सन्दर्भमा बुझ्यौं- सेनाले ढुवानीको जिम्मा लिएको रहेछ भने वितरणको जिम्मा सीडिओ कार्यालयको रहेछ । उनीहरुवीचको आपसमा कुनै समन्वय नै छैन । औषधी लिएर चौरजहारीमा फ्याकीदिएको छ तर पीडित जनता अर्कोपट्ट छन् । यसरी सामान्य सरकारका आ-आÏना संयन्त्रमा पनि कुनै समन्वय नभएको त्यहाँ देखियो ।

भोकमरीको हलको निम्ति जाजरकोटका सीडिओसंग हामीले कुरा गर्‍यौं, उनी भन्छन्- "हामीसंग छत्तिस सय क्विन्टल चामल अहिले पनि विद्यमान छ ।" जनता भोकमरीले मरिरहेका छन्, चामल तुरुन्त वितरण गर्नु पर्‍यो भनेर हामीले अनुरोध गर्दा उनी भन्छन- "प्रक्रिया मिलाएर जानुपर्छ, बैठक बोलाउनुपर्छ, सहमति बनाउनु पर्छ, सहमति भएपश्चात युजर कमिटि बनाएर पठाउनु पर्दछ, फेरि त्यहाँ युजर कमिटि बनाएर पठायो त्यो युजर कमिटिले बीचैमा चामल बेचेर नक्कली बील पेश गर्छन् ।" त्यसकारण मूल समस्या हामीसंग साधन-स्रोत नभएर होइन कि सरकारको पुरानो सामन्ती राज्यप्रणाली र नालायकीपनको हो ।

विकट गाउँका जनतालाई आÏनो खेती-उव्जनीले तीन महिना सम्मपनि राम्रो संग खान पुग्दैन, नौ महिना उनीहरु वेरोजगार रहन्छन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नु सरकारको दायित्व हो । त्यसपछि मात्र उनीहरु खाद्यान्न किन्न सक्छन् । यस्तो अवस्थामा उनीहरुसंग किन्नको निम्ति पैसा पनि छैन । त्यसकारण सरकारले राहतस्वरुप आवश्यक खाद्यान्न तत्काल उपलव्ध गराउनु पर्दछ । एउटा सभ्य आधुनिक सरकारले जनताका निम्ति त्यति काम तुरुन्तै गर्न सक्नुपर्दछ । तर प्रक्रियागत कुरा भनेर जुन आल-टाल गरेको अनुभुति गर्‍यौं त्यसले पनि नेपाली राज्यसत्ता कति जर्जर छ, कति जनविरोधी र असंवेदनशील छ भन्ने कुराको पुष्टी गर्दछ ।

त्यसैले त आमरुपमा दश वर्षे जनयुद्धका क्रममा देखेको र म आफै पनि गाउँमा जन्मेको हुनाले गरीब जनताका ती पीडाहरु शुरुदेखि मलाई वोध नभएको होइन । दश वर्षे महान् जनयुद्धमा गाउँका गरीब जनताले हामीलाई जुन ढंगले साथ दिए, वलिदानी गरे, अब त्यसपछि पनि ती जनताको जीवन स्तरमा कुनै परिवर्तन नआउनु साँच्चै एउटा पीडा महशुस हुने गर्छ मलाई । अब अधूरो क्रान्ति र परिवर्तनलाई पूरा गर्नको निम्ति फेरि नयाँ ढंगले क्रान्तिलाई निरन्तरता दिनुपर्दछ भन्ने थप वोध मलाई भएको छ ।

आफ्नै आखाँको अगाडि मैले देखेको ती गरिव-दुःखी निमुखा जनताका पीडादायी क्षण अहिले पनि मेरो मष्तिष्कमा वरिपरि झलझली घुमिराखेको छ । ती जनताको मुक्तिको निम्ति केही गर्नैपर्छ । ती गरीब जनतालाई हामीले न्याय दिन सकेनौं भने हामीले शुरु गरेको यो अभियान र यत्रो ठूलो वलिदानको कुनै सार्थकता रहँदैन । त्यसैले पनि म सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-वहिनीहरु र विशेष गरी युर्वावर्गलाई फेरि एक चोटि मुटुमा हात राखेर गम्भिरतापूर्वक सोच्न र ती जाजरकोट-रुकुम लगायतका विकट जनताका समस्यालाई केन्द्रमा राखेर चिन्तन गर्न म हार्दिक आग्रह गर्दछु ।
Source : Naya News