Pages

Subscribe:

Rukum

.

Friday 25 September, 2009

जहाज अपहरणको धम्की दिने चिकित्सक पक्राउ

रुकुम,
असोज १- नेपाल वायुसेवा निगमको जहाज अपहरण गर्छु भन्दै पाइलटलाई अभद्र व्यवहार गर्ने विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलाई रुकुम प्रहरीले सल्ले विमानस्थलबाट पक्राउ गरेको छ । झाडापखाला महामारी नियन्त्रण भएपछि जिल्लाको अवस्था अध्ययन गर्न रुकुम आएका सङ्गठनका प्रतिनिधि डा नवीन घिमिरे पक्राउ परेका हुन् ।
घिमिरेले जहाजभित्र पाइलटलाई अभद्र व्यवहार गरेको तथा जहाज अपहरण गर्छु भन्ने जस्ता शब्दहरू प्रयोग गरेकोले उनलाई पक्राउ गरिएको रुकुम प्रहरीले बताएको छ । नेपालगञ्जबाट नेपाल वायुसेवा निगमको जहाज चढेर आएका घिमिरेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

Wednesday 16 September, 2009

रुकुमको मुसिकोटमा ट्राफिक व्यवस्था

खलङ्गा, २९ भदौ/ पटकपटक भएका दुर्घटनामा धेरैले ज्यान गुमाई सकेपछि हालैमात्र सल्यान रुकुम मुसिकोट सडकखण्डमा ट्राफिक व्यवस्था गरिएको छ । सो क्षेत्रमा ट्राफिक प्रहरीका व्यवस्था गर्नुपर्‍यो भनेर स्थानीय बासिन्दाले माग गरेको एकवर्षछि मात्र सो व्यवस्था गरिएको हो । ‘अवैध मालसामान चेक जाँचको अभावमा यही बाटो हुदै तुलसीपुर, नेपालगन्ज, काठमाडौ जाने गरेको थाहा पाएपछि ट्राफिक आवश्यकता परेको हो’ - रुकुमका प्रहरी निरीक्षक यादवराज उप्रेतीले भन्नुभयो-’लाइसेन्स विनाका गाडीहरू पनि चल्न थालेकाले सवारी दुर्घटना रोक्न पनि सघाउ पुर्‍याउनेछ ।’ सुरुमा सदरमुकाम मुसिकोट खलङ्गा, बैरागीठाँटी बजारमा राखिने र मङ्सिरदेखि जिल्लाका अन्य ठाउँमा पनि सो व्यवस्था गरिने प्रहरी निरीक्षक उप्रेतीले जानकारी गराउनुभयो ।

कारागारमा क्षमताभन्दा बढी कैदी

रुकुम जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी राखिएका कारण कारागारभित्र समस्या देखिएको छ । पन्ध्र कैदी राख्नसकिने सो कारागारमा हाल ७२ जना थुनुवा र कैदी रहेका छन्।
साँघुरा कोठा र त्यसमाथि वर्षात्को पानी कोठाभित्र पसेर रातभर सुत्नै सकिँदैन भन्दै कैदीहरुका नाइके लालबहादुर सार्कीले भने-'महिला र पुरुष अलग अलग बस्नुपर्नेमा अटेसमटेस गरेर एकैठाउँमा बसिएको छ ।'
पुराना भौतिक संरचना भएको उक्त कारागारमा शौचालयको समेत समस्या भएको कैदी तथा थुनुवाहरु बताउँछन् ।
सो कारागारमा वि.सं.२०६५ देखि कैदी जीवन बिताइरहेकी खारा-४ की पवित्रा खत्रीले भनिन्-'सबै बाहिर निस्कि हो भने पाइला टेक्ने ठाउँसम्म हुँदैन ।'
कारागारमा खेल मैदानको त कुरै छोडौँ, जुठो पानीसमेत फाल्ने ठाउँ नभएपछि उनीहरु झन हैरान भएका छन् । 'हामी पनि त यही देशका नागरिक हौँ' एक कैदीले आफ्नो दुःखेसो पोख्दै भने-एक दिनको अन्जानले गर्दा सधैँभरि पश्चाताप गरिरहनुपर्‍यो ।
कारागारका प्रमुख प्रहरी सहायक निरीक्षक रोशन शाह सो समस्या सम्बन्धमा हामीले पटकपटक केन्द्रलाई भन्यौ तर सुनुवाइ नभएको बताउनुहुन्छ।
Source: NepalBritain.com

जडिबुटीको सही मूल्यांकन हुन सकेन

सिस्ने हिमालको काखमा अवस्थित प्राकृतिक रुपमा अत्यन्त सुन्दर र सम्पन्न जिल्ला मानिने रुकुम जिल्लामा प्रशष्त जडिबुटी हुंदाहुंदै पनि यसको उचित संरक्षण र सम्बर्द्धन हुन सकेको छैन । यहां यार्चागुम्बा, पांचऔंले, कटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरो, सुगन्ध कोकिला, रिठ्ठा, शिलाजीत, कस्तुरी, पाखनबेदजस्ता दुर्लभ र मूल्यवान एवं उपयोगी र लोकप्रिय जडिबुटीहरू पाइन्छन । तर, विडम्बना, यी अमूल्य जडिबुटीको सदुपयोग अझैसम्म हुन सकेको छैन, महत्व बुझ्न र वुझाउन सकिएको छैन ।
यहां रहेका अनेकौं मूल्यवान् जडिबुटीहरू त्यसै खेर गइरहेका छन् भने कतिपय जडिबुटीहरू अत्यन्त कम मूल्यमा बाहिरिएका छन् । तर, तिनै जडिबुटीबाट बनेका विदेशी औषधीहरू किन्न लाखौं रूपैयां खर्च भइरहेको छ । केहि स्थानीय वैद्यहरूले स्वास्थ्य उपचारका लागी आयुर्वेदिक चिकित्सा पद्धतिमा प्रयोग गरेपनि व्यवस्थित नभएकाले स्थानिय जनता यसमै निर्भर रहन सकेका छैनन् । वहुसंख्यक समुदाय तथा स्थानीय उपभोक्ताहरू यि वहुमुल्य जडिबुटीहरूको आर्थिक महत्वका बारेमा अहिलेसम्म अनविज्ञ नै छन् । यिनै कारणले जिल्लामा केही जडिबुटीहरू दलालको माध्यमबाट निकै सस्तो मूल्यमा विक्री पैठारी भइरहेको छ ।
जिल्ला विकास समिति रुकुमको एक तथ्यांक अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडिबुटीहरूमा यार्चागुम्बा, कुरिलो जस, टिमुर, रिठ्ठा, सेतरवाजरा, जटामसी, भलायो, बुकी फुल, दालचिनी, अमला, तितेपाती, पाचाऔंले, सुगन्ध कोकिला, तिते, कालादाना, साधारण झ्याउ आदि रहेका छन् । यस जिल्लामा पाइने जडिबुटीहरू अत्यन्तै दुर्लभ एवं अमृततुल्य मानिएका यार्चागुम्बा, पाचाऔंले, कस्तुरी शिलाजीत आदि दिनप्रतिदिन दुर्लभ भइरहेका छन् । जिल्लाका हुकाम, मैकोट, जाङ्ग र सिस्ने गाविस यार्चागुम्बा पाइने प्रमुख क्षेत्र हो । विकट जिल्ला भएकाले कसैको पनि प्रत्यक्ष निगरानी नभएको हुंदा यहां पाइने जडिबुटीहरू अवैध बिक्री वितरण भइरहेका छन् । सरकार तथा स्थानियवासीले समेत थाहा नपाउनेगरि जडिबुटीको चोरी निकासी भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले खासै ध्यान दिएको देखिंदैन ।
जडिबुटी खेतीलाई प्रोत्साहन गरी उसको खेतीलाई सामाजिक अभियानको रूपमा सञ्चालन गर्दै जडिबुटीको भण्डारणलाई संरक्षण र सम्बर्धन गर्नु आम नेपालीको दायित्व हो । त्यसमाथी, रुकुमजस्तो न्यून आय भएको जिल्लामा तत्कालैदेखि एक स्पष्ट गुरुयोजना बनाई कार्यान्वयन गरिएमा समुदायको आर्थिक अवस्था सुधार्न धेरै समय नलाग्ने बताउंछन्, स्थानीय बुद्धिजीवीहरू । रुकुममा जडिबुटी विकास सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायबाट सामान्य पहल भए तापनि, यो पर्याप्त छैन, झन् सरकारि निकायवाट त कुनै प्रयास समेत भएको छैन ।
यहां एकातर्फ दुर्लभ र महत्वपूर्ण जडिबुटीहरूलाई उचित संरक्षण तथा सम्बर्धन गर्न आवश्यक छ भने अर्कोतर्फ प्रशोधन केन्द्रको स्थापना गरी जडिबुटी तथा लघुवन पौदावारको माध्यमबाट रोजगारका अवसरहरू श्रृजना गर्नुपर्ने देखिन्छ । तर, स्थानिय वासिन्दाहरूलाई जडिबुटीको महत्वबारे सामान्य चेतना समेत नहुनु, संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मूल्य नपाउनु, जडिबुटीको परिणाम यकिन नहुनु, जिल्लाको दुर्गम क्षेत्रमा अमूल्य जडिबुटी पाइनु, संकलन गर्न उचित समय तथा संकलन विधि थाहा नहुनुजस्ता समस्याले स्थानिय पहलवाट मात्र यो संभव हुंदैन । तसर्थ, यसको लागि सम्बन्धित सरकारि निकायले कुन जडिबुटी महत्वपूर्ण छ, पारिश्रमिक र लगानी कति लाग्छ र यसलाई दिगो रूपमा कसरी निरन्तरता दिन सकिन्छ भन्नेवारे जनचेतना अभिवृद्धि गराउनुका साथै व्यवस्थित रूपमा जडिवुटि संकलन र खेतीसम्बन्धी वैज्ञानिक प्रविधि विकास गर्नु अति आवश्यक छ ।
सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडिबुटीको संरक्षण, व्यवस्थापन र उचित प्रयोगलाई निरन्तरता दिंदै पेशागत रूपमै संकलन तथा खेती विस्तारमा स्थानियवासीलाई प्रोत्साहन गर्न सकेमा आयआर्जनको वृद्धि हुनगई न्यून आयस्तरका जनताहरु भएको रुकुमजस्तो जिल्लाको समुदायीक विकास गर्न तथा जनताको आर्थिक अवस्था सुधार्नमा केही टेवा पुग्ने थियो कि ?

Wednesday 9 September, 2009

बिमारीको उद्दार

मन्त्रिपरिषद्को बैठकले ठूलो कि नागरिकको ज्यान? प्रधानमन्त्री माधवकुमार नेपालले भने नागरिकको ज्यानलाई महत्त्व दिएर आफूलाई लिन गएको हेलिकप्टर लिएर अत्याधिक रक्तश्रावका कारण जोखिममा रहेकी रुकुमकी एक महिलालाई उपचारका लागि काठमाडौं ल्याएका छन।
प्रधानमन्त्री नेपालले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु हुनै लाग्दा अचानक रुकुमकी एक महिला अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा रहेको थाह पाएपछि बुधबार बिहान उनी आफै रुकुम पुगेर ती महिलालाई उपचारका लागि राजधानी ल्याएका हुन ।
बच्चा जन्माउने सिलसिलामा रुकुम जिल्ला अस्पतालमा भर्ना गरिएकी मुसिकोट- ८ रातामाटाकी २० वर्षिय गर्भवती कमला चन्दलाई ४ घण्टाभित्र थप उपचारका लागि काठमाडौं नलगिए मृत्यू हुने खतरा रहेको चिकित्सकले बताएका थिए ।
जिल्ला सदरमुकाम सल्लेमा नियमित हवाई उडान र अन्य यातायातको सुबिधा नभएका कारण ती महिलाको ज्यान जोखिममा रहेको खबर नेपालगञ्जमा रहनुभएका प्रधानमन्त्रीले पूर्व जिविस सभापति खेममान खड्का, प्रमुख जिल्ला अधिकारीलगायतबाट प्राप्त गरेका जनाइएको छ ।
त्यस लगत्तै प्रधानमन्त्री नेपाल आफूलाई लिन गएको हेलिकप्टर लिएर बिहान ७ बजे नेपालगञ्जबाट रुकुमको सदरमुकाम सल्ले पुगेर त्यसपछि ती महिलाको उद्धार गरी प्रधानमन्त्री राजधानी फर्किएका हुन। हाल ती महिलालाई प्रशुतीगृह थापाथलीमा भर्ना गरिएको छ ।
साक्षरता दिवसका उपलक्ष्यमा 'शिक्षा यात्रा' उद्घाटन कार्यक्रमको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर पुगेका प्रधानमन्त्री नेपाल सो कार्यक्रममा भाग लिई बुधबारै राजधानी फर्किएका छन ।
मन्त्रीपरिषदको नियमित बैठक आज बिहानका लागि तय भए पनि अपरान्ह २ बजेका लागि सारिएको छ। कार्यक्रममा सहभागी हुन सुदुरपश्चिम हुँदै बाँके पुगेएका प्रधानमन्त्री माधवकुमार नेपाल यही कारणले समयमै काठमाडौँमा आउन नसकेपछि बैठक अपरान्हका लागि सारिएको हो ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण, नजिकिँदो चाडपर्वसँगै चर्को मुल्यवृद्धि नियन्त्रण, सर्वसाधरणलाई उपभोग्य वस्तुहरुमा उपलब्ध गराइने राहतलगायतका विषयमा छलफल हुने बुझिएको छ।
sporce: Dainiki

Sunday 6 September, 2009

यातायात बन्द

दाङ -कास)- नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ राप्तीले आइतबार र सोमबार अञ्चलभर यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दका कारण आइतबारदेखि राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
दाङ, सल्यान, प्युठान, रोल्पा र रूकुममा कुनै पनि साधन चलेनन् । यातायात नचल्दा यात्रुलाई आवत जावतमा कठिनाइ भइरहेको छ । यातायात व्यवसायी महासंघले विभिन्न समयमा तोडफोड भएका र जलाइएका गाडीहरूको क्षतिपूर्तिको माग गर्दै राप्तीमा दुई दिने यातायात बन्दको आह्वान गरेको हो ।
source:kantipur