Pages

Subscribe:

Rukum

.

Thursday 12 November, 2009

बस र जहाज भाडा बराबर

सल्यान, २५ कात्तिक
तपाईं रुकुमको चौरजहारीबाट नेपालगन्जसम्मको हवाईयात्रा गर्दै हुनुहुन्छ ? मध्यपश्चिम पहाडी क्षेत्रको व्यापारिक केन्द्र चौरजहारीबाट नेपालगन्जसम्म यात्रा गर्न हवाईजहाज र बससेवा दुवै पाउनुहुनेछ । तर, बस र जहाजको भाडामा भने तीन सय रुपैयाँको मात्र अन्तर पाउनुहुनेछ ।
यस क्षेत्रमा सञ्चालित यातायात व्यवसायी समितिले महँगो भाडा लिने र चौरजहारीबाट गाडी सञ्चालन हुनासाथ नेपाल वायुसेवा निगमले भाडादर घटाएपछि बस र जहाजको भाडा एउटै पर्न गएको हो ।
चौरजहारीबाट नेपालगन्जम्म मध्यपश्चिमका चार व्यवसायी समितिका गाडी सञ्चालन हँुदै आएका छन् । भेरी, मध्यपश्चिम, वागेश्वरी र भेरी-राप्ती व्यवसायी समितिले महँगो भाडा लिएपछि सो सडकखण्डमा यात्रा गर्ने सर्वसाधारण मर्कामा परेका छन् । चौरजहारीका रमेश लामिछाने भन्छन्, 'यातायात व्यवसायीको मनपरीले जहाज-भाडा तिर्न बाध्य भएका छौँ ।'
सल्यानको सल्लीबजारमा प्रधान कार्यालय रहेको भेरी-राप्ती बस व्यवसायी समितिले चौरजहारीदेखि सल्लीबजारसम्मको ४१ किलोमिटर सडकमा चार सय रुपैयाँ लिने गरेको छ । सल्लीबजारदेखि नेपालगन्जसम्म पालोअनुसार चार समितिका गाडीबाट यात्रु ओसार-पसार गरिँदै आएको छ भने सबैले चार सय रुपैयाँ भाडा लिने गरेका छन् ।
बससँग प्रतिस्पर्धा गर्ने भनी वायुसेवा निगमले १९ सय रुपैयाँबाट भाडा घटाएर ११ सयमा झारेको छ । बस र जहाजको भाडादरमा फरक नभएपछि यात्रु जहाजका लागि महिनौँअघि टिकट लिने गर्छन् । भाडादर घटाए पनि निगमले सातामा चार उडान मात्र भर्ने गरेकाले यात्रुले बसमा महँगो भाडा तिर्नुपरिरहेको स्थानीय शमशेर बुढाथोकीले बताए । वायुसेवा निगम चौरजहारीका स्टेसन इन्चार्ज सन्तोष बुढाले सातामा एक उडान काठमाडौं र सोमबार, बुधबार र शुक्रबार नेपालगन्ज उडान हुँदै आएको जानकारी दिए । १९ सिट मात्र भएका साना जहाज मात्र सञ्चालन हुने भएकाले यात्रुले सुविधा भने पाउन सकेका छैनन् ।
सल्यान, रुकुम, जाजरकोट र डोल्पावासीले सो ठाउँबाट यात्रा गर्दै आएका छन् । भाडामा अन्तर नभए पनि गाडीबाट नेपालगन्ज र्झन आठ घन्टा लाग्छ भने जहाजमा २० मिनेटमा पुगिन्छ । 'गाडीमा धेरै समय लाग्ने भए पनि खर्च भने बराबर हुने गरेको छ,' स्थानीय बुढाले बताए, 'जहाजमा यात्रा गर्दा समय बचत हुने गरेको छ भने गाडीबाट समय र रकम दुवैको बचत हुँदैन ।'
यस क्षेत्रमा सञ्चालित बस व्यवसायी समितिले हवाईजहाजको भाडासरहको रकम यात्रुबाट वर्षांदेखि असुल्दै आए पनि घटाउनेतिर प्रशासन र अन्य सरोकारवाला निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ । उपयुक्त भाडादर निर्धारण गर्न माग गर्दै स्थानीयवासी तथा विद्यार्थीले सडकजाम गरे पनि प्रशासनका आडमा व्यवसायीले महँगो भाडा असुल्दै आएका छन् ।
Source: Naya Patrika

Wednesday 11 November, 2009

रुकुमका जनताले यात्राका लागि कष्ठ झेल्नु नपर्ने

रुकुम, २५ कात्तिक । आफ्‍नो घर जान रुकुमका जनताले हवार्इजहाजको टिकटका लागि अब हप्तौ कुर्नुपर्ने समस्याबाट मुक्त भएका छन्।
हवाई जहाजको वैकल्पिक यातायातको साधन हुन नसकेका कारण स्थानीयवासीले काठमाडौ आउन यात हप्तौं कुर्नुपर्ने या नेपालगञ्ज हुँदै आउनुपर्ने समस्या थियो ।
रुकुमको सदरमुकाम मुसिकोट खलङ्‍गादेखि काठमाडाँसम्म चल्ने रात्रिबस सेवा हिजोदेखि सञ्चालन भएपछि त्यहँाका जनता उक्त समस्याबाट मुक्त भएका हुन्।
बस व्यवसायी सुदन शाहले भन्नुभयो "अब त्यहाँका यात्रुहरूले सल्यान, दाङ तथा अन्य काठमाडौ जानका लागि सिधैं काठमाडौको टिकट काट्‍ने छन्‍, रात्रिबसमा तुल्सीपुर उज्यालो हुँदै काठमाडौ पुगेको पत्तै पाउने छैनन्।"

रुकुममा दैनिक तेइस घण्टा लोडसेडिङ

रुकुम, १७ कात्तिक । रुकुमको एक गाविसमा दैनिक २३ घण्टा विद्युत लोडसेडिङ हुनेगरेको छ ।
जिल्लाको पश्चिमी विजयश्वरी गाविसमा विजयश्वरी हाइड्रोपावर कम्पनीबाट सञ्चालित उक्त विद्युत पानीकै अभावले गर्दा दैनिक एक घण्टामात्र सञ्चालनमा ल्याइएको छ ।
वि.सं. २०४३ मा निर्माण भएको उत्तm विद्युत पानीको कमीले गर्दा विस्तारै प्रसारण पनि कटौती हुँदैगएको छ ।
सञ्चालनको सुरुमा सेवाग्राहीहरू निकै लाभान्वित भए पनि यहाँका बासिन्दाहरू अहिले निकै मर्कामा परेका छन्‍ । उक्त गाविसमा सञ्चालन गरिएको विद्युतलाइन जिल्लाका विजयश्वरी, कोटजहारी, गाविस र जाजरकोट सदरमुकाम खलङ्‍गामा पनि लाइन विस्तार गरिएको थियो । विद्युत भए पनि अन्धकारमा बस्नुपरेको विजयश्वरी- ५ का स्थानीय राजु लामिछानेले गुनासो गर्नुभयो ।

मध्यपश्चिममा ७० प्रतिशत जनता रोजगारमा सँलग्न

नेपालगन्ज, १७ कात्तिक । मध्यपश्चिमाञ्चलका ७० प्रतिशत जनता पूर्ण रोजगारमा संलग्न भएको तथ्याङ्‍क सार्वजनिक गरिएको छ ।
केन्द्रीय तथ्याङ्‍क विभाग घरपरिवार सर्वेक्षण शाखाले सार्वजनिक गरेको सर्वेक्षण तथ्याङ्‍क साथै मध्यपश्चिम क्षेत्रमा १९.२ प्रतिशतले २० घण्टाभन्दा बढी र ९.९ प्रतिशतले दुई घण्टाभन्दा कम समय काम गर्दैआएको सो तथ्याङ्‍कमा उल्लेख छ ।
केन्द्रीय तथ्याङ्‍क विभागले हप्तामा ४० घण्टाभन्दा बढी काम गर्नेलाई पूर्ण रोजगार तथा सो समयभन्दा कम समय काम गर्नेलाई अर्ध बेरोजगार र रोजगारी नपाएको सूचीमा राख्नेगरेको छ ।

Monday 2 November, 2009

रुकुमका गाउँमा इन्टरनेट विस्तार हुने

रुकुम, २८ असोज ।
सूचनाको पहुच र विकास क्रमसँगै अव दुर्गम जिल्ला रुकुमका गाउँगाउँमा इन्टरनेट सेवा विस्तार हुने भएको छ । ग्रामीण सूचना केन्द्र रुकुमले सूचना प्रविधिकेन्द्र नेपाल (सिआइटी)र उच्चस्तरीय सूचना आयोगको भौतिक सहयोगमा अब रुकुमका गाउँगाउँमा इन्टरनेट सेवा पुग्ने भएको छ ।
जिल्लामा सूचना प्रविधिको मागलाई ध्यानमा राखेर यस्तो योजना गरिएको हो । उक्त इन्टरनेट सेवा जिल्लाका बाँफिकोट, पोखरा, शोभा, खलङ्गा, आठबिसकोटलगायतका गाविसमा विस्तार हुने भएको छ । यस इन्टरनेट सेवाबाट दुर्गम गाउँका स्थानीय उपभोक्ता लाभान्वित हुने भएका छन् । गाउँगाउँमा इन्टरनेट सेवा विस्तार भएपछि इमेल, इन्टरनेट, सूचना प्राप्त गर्नका लागि सदरमुकाम खलङ्गा आउनुपर्ने बाध्यता पनि टरेर जाने भएको छ । विभिन्न स्थानीय उपभोक्ता समितिमार्फ सञ्चालन गरिएको जिल्लाको एकमात्र ग्रामीण सूचना केन्द्र -ग्रासूके)ले अब गाउँगाउँमा इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । रुकुममा सञ्चालनमा आएको सामुदायिक इन्टरनेट सेवामा इमेल गर्न दैनिक करिब तीनघण्टा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । गएको जेष्ठ महिनादेखि समुदायलेनै सञ्चालनमा ल्याएको एक मात्र इन्टरनेट सेवामा एउटा कम्युटर मात्र भएकाले तीनघण्टा पालो कुर्नुपरेको थियो । ग्रामीण सूचनाकेन्द्र रुकुमले सूचना प्रविधि केन्द्र नेपाल (सिआइटी) र उच्चस्तरीय सूचना आयोगको भौतिक सहयोगमा स्थानीय उपभोक्ता समितीमार्फ जिल्लामा एकमात्र केन्द्र सञ्चालन गरिएको हो । सदरमुकाम खलङ्गामा पनि सेवाग्राहीको सेवालाई ध्यानमा राखी इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिने सूचना केन्द्रले जानकारी दिएको छ ।

घुमघाम रोल्पा रुकुमतिर

चक्रपाणी नेपाल
मर्सिकोर इन्टरनेसनलका उपाध्यक्ष नान्सी लिन्डवर्गले नेपालसम्बन्धी यौटा खोजमूलक प्रतिवेदनमा भक्तपुरको ५५ झ्याले दरबार राणाहरुले बनाएको उल्लेख छ। पश्चिमा विद्वानहरुले नेपालसम्बन्धी गरेका/गराइएका खोज, अनुसन्धानहरु तथ्यसँग कति नजिक छन् भन्ने यो यौटा हाम्रा नीति निर्माताहरुका लागि चोटिलो चड्कन हो भन्दा अत्युक्ति हुँदैन। १९७० सम्म रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटमा थियो। त्यो बाहुन–ठाना गाविसमा पर्दथ्यो। पूर्वराजा ज्ञानेन्द्रको बहिनीको त्यहाँका चौबीसे राजाका खलक मोहनबहादुर शाहीसँग बिहे भयो। शोभाले जब आफ्नो खसमको गृह गाउँको यात्रा गरिन्, तबदेखि त्यो गाउँको नाम परिवर्तन गरी शोभा नाम राखियो। ज्ञानेन्द्रकी अर्की बहिनी शारदाको पनि मुसिकोटे राजा कुमार खड्गविक्रम शाहसँग विवाह भएको थियो, जो दरबार हत्याकाण्डमा मारिए। यी ठकुरीहरु जुम्लाबाट बसाईं सरी रुकुम आएर त्यहाँका अन्य ठकुरीलाई हटाएर आफैं राजा भएका थिए। त्यसैले, रुकुमको मुसिकोटलाई आज पनि बुढापाकाहरु जुम्ली खलंगा भन्दछन्। जाजरकोट खानदानका ठकुरीहरु मुसिकोटबाट बाफलीकोट गाउँमा बसाईं सरेर गए। मुसिकोटेभन्दा यिनीहरुको राजनीतिक भूमिका ठूलो भएको हुँदा राजा महेन्द्रसँग राम्रो सम्बन्ध थियो। ध्रुवविक्रम शाह यस खलकका प्रभावशाली व्यक्ति थिए। राष्ट्रिय पञ्चायतमा दुईपटक सदस्य भएका ध्रुवविक्रम शाहका छोरा सेनाका जर्नेल विवेक शाह पूर्वराजा ज्ञानेन्द्रका सैनिक सल्लाहकार थिए। यी दुई ठकुरी परिवारको आपसी जुँगाको लडाईंले गर्दा रुकुम जिल्ला ०५०/०५५ सालसम्म सडक यातायातबाट बञ्चित रह्यो। त्यति हुँदाहुँदै पनि ३५/४० वर्षअघि रुकुम, रोल्पाका जनता अहिलेभन्दा धेरै राम्रो आर्थिक हैसियतका थिए। नेपालको पश्चिम पहाडी क्षेत्रमा यी जिल्ला सबैभन्दा सम्पन्न थिए। १९७० को दशकसम्म नेपाली गाँजा खेतीमा यो ठाउँ अब्बल दर्जामा गनिन्थ्यो। विश्वभरमा यहाँको गाँजाको गुणस्तर पहिलो नम्बरमा आउँथ्यो। दोस्रो विश्वयुद्धताकादेखि नै यहाँको गाँजाले भारतीय बजार कब्जा गरिसकेको थियो। गाँजाको आयबाट नुनतेल, लत्ताकपडा, खाद्यान्नदेखि त्यहाँका महिलाहरुले गलामा लगाउने मोहरीया, चाँदीका हार र सुनका गहनासमेत खरिद गर्दथे। गाँजाको बोट जंगल क्षेत्र र पातलो बस्तीका खोल्सा, करेसा भएका रुकुमको उत्तरी भाग, रोल्पाको अधिकांश क्षेत्रदेखि पूर्वी सल्यान र सुर्खेतका कतिपय भू–भागमा आफैं वर्षेनी बढ्ने, हुर्कने गर्दछ। यसको बोटको खस्रो बोक्राबाट रेशा निकाली झोला, थैला, बोरा बनाइन्थ्यो, र बाँकी मसिनो धागोबाट कोट, बख्खु स्थानीय भाषामा भांग्रा कपडा बुन्ने गरिन्थ्यो। गाँजाको बियाँको अचार तिलको भन्दा स्वादिलो हुन्छ। आज पनि त्यतातिर भाङको अचार प्रख्यात छ। गाँजाको बोटको टुप्पा र पातमा एक प्रकारको सल्लाको खोटोजस्तो चोप निस्कन्छ, त्यही नै चरेस हो। चोप संकलन गरेर तोला बराबरका गोली बनाई बिक्री हुन्थ्यो। त्यो चरेसका काठमाडौंमा मात्रै एक दर्जनजति चरेसका दोकान र रेष्टुरेन्ट थिए। झोंछेको होटल इडेन पश्चिमा नसडीहरुका लागि स्वर्गै थियो। तर, १९७६ देखि सरकारले लागूऔषध ऐन जारी गर्यो , र गाँजा खेतीमाथि प्रतिबन्ध लगायो। यसअघि राज्यको कुनै पनि प्रशासनिक निकाय शून्य रहेको त्यो क्षेत्रका ग्रामीण इलाकामा जग्गा नापीको नाममा सरकार प्रकट भयो। गाँजाको बोट लगाएको निजी जमिनलाई जंगल क्षेत्र भनेर वर्गीकरण गर्न थाल्यो, कतिपय स्थानमा गरिदियो पनि। काठमाडौंले गरेको शासकीय कारबाहीमा ग्रामीण भेगसम्म पुगेको यो यौटा निकै सफल योजना थियो। तर, गाँजा समूल नष्ट भने भएन। प्रहरी र प्रशासनको राम्रो आयश्रोत आज पनि छँदैछ। अर्धभूमिगत कम्युनिस्ट नेता मोहनविक्रम सिंहका बाबु जुम्लाबाट प्युठान बसाईं सरेका हुन्। मोहनविक्रमका बाबुको नाम खेमबहादुर घर्ती हो। पछि उनले आफ्नो नाम खेमविक्रम सिंह (के. वि. सिंह) बनाए, र सामाजिक हैसियत माथि उचालेका थिए। नाम फेरेर सिंह बनाएकोमा राणा सरकारले जरिवाना गर्योक। जरिवाना तिरे पनि नाम फेरेनन्। प्युठानको ओखरबोटमा केवि सिंहले ५५ झ्याल हालेर दरबार बनाए। त्यसबेला त्यस्तो महल बनाउनु राणाहरुका लागि सह्य हुँदैनथ्यो। त्यसैले, राणा सरकारले चेक जाँच गर्न टोली पठायो। चतुर केवि सिंहले दुईवटा झ्याल छोपछाप पारेर ५५ भन्दा कम झ्याल रहेको निष्कर्ष लिएर टोली फर्कियो। यहाँ पनि केवि सिंहले चाहेको काम पूरा गरे। २०१५ सालको आम चुनावमा रोल्पाको थवाङमा सात सय तीन मतदातामा सात सय मत प्राप्त गरेको थियो, नेपाल कम्युनिस्ट पार्टीले। यसबाट के प्रष्ट हुन्छ भने ०१५ सालअघि देखि नै रोल्पाली खाम मगर बस्तीहरु कम्युनिस्ट पार्टीका आधार क्षेत्र थिए। मोहनविक्रम सिंह र वर्मन बुढाको यहाँ महत्वपूर्ण भूमिका थियो, जुन आज पर्यन्त छँदैछ। ०३७ सालमा पहिलोपटक यो गफाडी रोल्पाको थवाङ पुगेको थियो। जनमत संग्रहको राजनीतिक चहलपहल मनग्यै चलेको थियो। भेटघाटका लागि एकाबिहानै कुनै मगरको घरमा पुग्यो भने चियाको बदला घरपालुवा रक्सीको गिलासले स्वागत गरेका थिए। पहिलोपटक हालेको गिलासको रक्सी खालि नहुँदै पुनः थपिँदै गर्ने अतिथि सत्कार यहाँको आफ्नै संस्कृति हो। अविवाहित तरुनी केटीहरु, विधवा अथवा सम्बन्ध विच्छेद गरेर बसेका महिलाहरु, जसको नियमित आयश्रोत छैन, उनीहरुका लागि जाँड, रक्सी बनाउनु र बिक्री गर्नु सामान्य चलन हो। अतिथि सत्कार, धार्मिक पूजाआजा, चाडपर्व र उपहारको आदान–प्रदानमा रक्सी अनिवार्य वस्तु हो।