Pages

Subscribe:

Rukum

.

Tuesday 18 October, 2011

खटाएको ठाउँमा हाजिरै नभई स्थानीय विकास अधिकारी सरुवा

जिविस निमित्तको पनि निमित्तको भरमा-
कमल थापा, रुकुम, असोज १५- कुनै पनि तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा निश्चित अवधिको कार्यकाल बिताएपछि मात्र हुने गर्छ। तर, रुकुमका स्थानीय विकास अधिकारी भने निश्चित कार्यकाल त के खटाएको ठाउँमा एक पाइला नटेकेरै सरुवा भएका छन्।

असारमा रुकुमका तत्कालीन स्थानीय विकास अधिकारी केदारनाथ शर्मा रुकुमबाट सरुवा भएपछि उनको ठाउँमा रामकुमार श्रेष्ठलाई मन्त्रालयले पठाउने निर्णय गरेको थियो। तर, रुकुम आउने भनिएका स्थानीय विकास अधिकारी श्रेष्ठ भने पाइला नटेकेरै उतैबाट सरुवा भएका छन्।

तोकिएका स्थानीय विकास अधिकारी श्रेष्ठ उपस्थित नभएर उतैबाट सरुवा भएपछि रुकुम जिविस ४ महिनादेखि प्रमुखबिहीन बन्दै आएको छ। त्यसयता निमित्तको पनि निमित्तको भरमा चल्दै आएको छ। निमित्तको जिम्मेवारी पाएका योजना अधिकृत शिवकुमार कार्की घर बिदामा गएपछि दोस्रो निमित्तको जिम्मेवारी सूचना अधिकृत चिन्तामणि दाहालले सम्हाल्दै आएका छन्।

जिविसमा लामो समयदेखि स्थानीय विकास अधिकारी नहुँदा विकास निर्माणका योजनाबारे निर्णय हुन निकै कठिन हुँदै आएको छ। नगद भुक्तानी भए पनि स्थानीय विकास अधिकारीले मात्र गर्ने काम कार्वाही प्रभावति हुने गरेका हुन।

नागरिक

Monday 3 October, 2011

रुकुममा मात्र दैनिक करोड रुपियाँ रेमिट्यान्स भित्रँदै

कमल थापा, रुकुम, असोज १३- दशैं नजिकिँदै गर्दा रुकुममा दैनिक एक करोड रुपियाँका दरले रेमिट्यान्स भित्रने गरेको छ। रोजगारीका लागि छिमेकी देश भारत र तेस्रो मुलुकका विभिन्न देश गएका रुकुमेलीले मनी एक्सचेन्जमार्फत् दैनिक एक करोड रुपियाँ पठाउने गरेका कारोबारमा संलग्न मनी टान्सफरले जनाएका छन्।

रोजगारीमा गएका आफन्तले पठाएको रकम लिने उनीहरुका आफन्तको भिड विगतको तुलनामा सदरमुकामस्थित मनी एक्सचेन्जका शाखामा बढेको छ। सदरमुकामलगायत् ग्रामीण बजारमा पनि रेमिटका शाखा खुलेका छन्।

सामान्यतया सदरमुकाम खलङ्गामा खोलिएका विभिन्न मनी एक्सचेन्जका शाखाबाट दैनिक ७५ लाख रुपियाँ आउने गरेकामा यस पटक दसैं नजिकिँदै गर्दा दैनिक एक करोडको हाराहारीमा भित्रने गरेको मनी ट्रान्सफर सञ्चालक बताउँछन्। छिमेकी देश भारतबाट नगन्यमात्र रेमिट्यान्स आउने गरको भए पनि विश्वका अन्य मुलुक खासगरी मलेसिया, कतार, दुवई, साउदी, ओमन, कोरिया, इराक तथा युरोपियन मुलुकबाट सबैभन्दा बढी रकम आउने गरेको छ। भारतीय सेना, सिङ्गापुरे प्रहरी र बेलायती सेनामा कार्यरत् रुकुमेलीले समेत रेमिट्यान्स पठाउने गरेका छन्। जिल्लाका अधिकांश मगर समुदायका युवा भारतीय, सिङ्गापुरे र बेलायती सेनामा समेत कार्यरत् छन्। उनीहरुले एक पटकमा प्रतिव्यक्ति एक लाखदेखि पाँच लाख रुपियाँसम्म रकम पठाउने गरेका छन्।

पछिल्लो एक वर्षयता द्वन्द्वग्रस्त देश इराक र अफगानिस्तानबाट पनि रेमिट्यान्स आउने गरेको छ। यी देशमा पनि दोस्रो एयरपोर्ट प्रयोग गरेर रुकुमका कामदार जाने गरेका छन्। जहाँ जान सरकारले निषेध गरेको छ।

जिल्ला सदरमुकाममा रहेका वेस्टर्न युनियन मनी ट्रान्सफर, आइएमई, हिमाल रेमिट, प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस, मनकामना मनी टान्सफरलगायत् आधा दर्जन ट्रान्सफरका शाखा सदरमुकाममा सञ्चालित छन्। त्यसका साथै चौरजहारी, आठवीसकोट, रुकुमकोट, खारा जस्ता केही स्थानीय बजारमा पनि मनी ट्रान्सफरका शाखा छन्। जिल्लामा स्थापना गरिएका सामुदायिक सहकारी संस्थामार्फत् पनि रेमिट्यान्स भित्रने गरेको छ। यसले गर्दा रुकुममा यस पटकको दसैं तिहार अवधिमा मात्रै पचास करोड जति रेमिट्यान्स रकम भित्रिने मनी टान्सफर व्यवसायीको अनुमान छ।