Pages

Subscribe:

Rukum

.

Monday 2 November, 2009

घुमघाम रोल्पा रुकुमतिर

चक्रपाणी नेपाल
मर्सिकोर इन्टरनेसनलका उपाध्यक्ष नान्सी लिन्डवर्गले नेपालसम्बन्धी यौटा खोजमूलक प्रतिवेदनमा भक्तपुरको ५५ झ्याले दरबार राणाहरुले बनाएको उल्लेख छ। पश्चिमा विद्वानहरुले नेपालसम्बन्धी गरेका/गराइएका खोज, अनुसन्धानहरु तथ्यसँग कति नजिक छन् भन्ने यो यौटा हाम्रा नीति निर्माताहरुका लागि चोटिलो चड्कन हो भन्दा अत्युक्ति हुँदैन। १९७० सम्म रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटमा थियो। त्यो बाहुन–ठाना गाविसमा पर्दथ्यो। पूर्वराजा ज्ञानेन्द्रको बहिनीको त्यहाँका चौबीसे राजाका खलक मोहनबहादुर शाहीसँग बिहे भयो। शोभाले जब आफ्नो खसमको गृह गाउँको यात्रा गरिन्, तबदेखि त्यो गाउँको नाम परिवर्तन गरी शोभा नाम राखियो। ज्ञानेन्द्रकी अर्की बहिनी शारदाको पनि मुसिकोटे राजा कुमार खड्गविक्रम शाहसँग विवाह भएको थियो, जो दरबार हत्याकाण्डमा मारिए। यी ठकुरीहरु जुम्लाबाट बसाईं सरी रुकुम आएर त्यहाँका अन्य ठकुरीलाई हटाएर आफैं राजा भएका थिए। त्यसैले, रुकुमको मुसिकोटलाई आज पनि बुढापाकाहरु जुम्ली खलंगा भन्दछन्। जाजरकोट खानदानका ठकुरीहरु मुसिकोटबाट बाफलीकोट गाउँमा बसाईं सरेर गए। मुसिकोटेभन्दा यिनीहरुको राजनीतिक भूमिका ठूलो भएको हुँदा राजा महेन्द्रसँग राम्रो सम्बन्ध थियो। ध्रुवविक्रम शाह यस खलकका प्रभावशाली व्यक्ति थिए। राष्ट्रिय पञ्चायतमा दुईपटक सदस्य भएका ध्रुवविक्रम शाहका छोरा सेनाका जर्नेल विवेक शाह पूर्वराजा ज्ञानेन्द्रका सैनिक सल्लाहकार थिए। यी दुई ठकुरी परिवारको आपसी जुँगाको लडाईंले गर्दा रुकुम जिल्ला ०५०/०५५ सालसम्म सडक यातायातबाट बञ्चित रह्यो। त्यति हुँदाहुँदै पनि ३५/४० वर्षअघि रुकुम, रोल्पाका जनता अहिलेभन्दा धेरै राम्रो आर्थिक हैसियतका थिए। नेपालको पश्चिम पहाडी क्षेत्रमा यी जिल्ला सबैभन्दा सम्पन्न थिए। १९७० को दशकसम्म नेपाली गाँजा खेतीमा यो ठाउँ अब्बल दर्जामा गनिन्थ्यो। विश्वभरमा यहाँको गाँजाको गुणस्तर पहिलो नम्बरमा आउँथ्यो। दोस्रो विश्वयुद्धताकादेखि नै यहाँको गाँजाले भारतीय बजार कब्जा गरिसकेको थियो। गाँजाको आयबाट नुनतेल, लत्ताकपडा, खाद्यान्नदेखि त्यहाँका महिलाहरुले गलामा लगाउने मोहरीया, चाँदीका हार र सुनका गहनासमेत खरिद गर्दथे। गाँजाको बोट जंगल क्षेत्र र पातलो बस्तीका खोल्सा, करेसा भएका रुकुमको उत्तरी भाग, रोल्पाको अधिकांश क्षेत्रदेखि पूर्वी सल्यान र सुर्खेतका कतिपय भू–भागमा आफैं वर्षेनी बढ्ने, हुर्कने गर्दछ। यसको बोटको खस्रो बोक्राबाट रेशा निकाली झोला, थैला, बोरा बनाइन्थ्यो, र बाँकी मसिनो धागोबाट कोट, बख्खु स्थानीय भाषामा भांग्रा कपडा बुन्ने गरिन्थ्यो। गाँजाको बियाँको अचार तिलको भन्दा स्वादिलो हुन्छ। आज पनि त्यतातिर भाङको अचार प्रख्यात छ। गाँजाको बोटको टुप्पा र पातमा एक प्रकारको सल्लाको खोटोजस्तो चोप निस्कन्छ, त्यही नै चरेस हो। चोप संकलन गरेर तोला बराबरका गोली बनाई बिक्री हुन्थ्यो। त्यो चरेसका काठमाडौंमा मात्रै एक दर्जनजति चरेसका दोकान र रेष्टुरेन्ट थिए। झोंछेको होटल इडेन पश्चिमा नसडीहरुका लागि स्वर्गै थियो। तर, १९७६ देखि सरकारले लागूऔषध ऐन जारी गर्यो , र गाँजा खेतीमाथि प्रतिबन्ध लगायो। यसअघि राज्यको कुनै पनि प्रशासनिक निकाय शून्य रहेको त्यो क्षेत्रका ग्रामीण इलाकामा जग्गा नापीको नाममा सरकार प्रकट भयो। गाँजाको बोट लगाएको निजी जमिनलाई जंगल क्षेत्र भनेर वर्गीकरण गर्न थाल्यो, कतिपय स्थानमा गरिदियो पनि। काठमाडौंले गरेको शासकीय कारबाहीमा ग्रामीण भेगसम्म पुगेको यो यौटा निकै सफल योजना थियो। तर, गाँजा समूल नष्ट भने भएन। प्रहरी र प्रशासनको राम्रो आयश्रोत आज पनि छँदैछ। अर्धभूमिगत कम्युनिस्ट नेता मोहनविक्रम सिंहका बाबु जुम्लाबाट प्युठान बसाईं सरेका हुन्। मोहनविक्रमका बाबुको नाम खेमबहादुर घर्ती हो। पछि उनले आफ्नो नाम खेमविक्रम सिंह (के. वि. सिंह) बनाए, र सामाजिक हैसियत माथि उचालेका थिए। नाम फेरेर सिंह बनाएकोमा राणा सरकारले जरिवाना गर्योक। जरिवाना तिरे पनि नाम फेरेनन्। प्युठानको ओखरबोटमा केवि सिंहले ५५ झ्याल हालेर दरबार बनाए। त्यसबेला त्यस्तो महल बनाउनु राणाहरुका लागि सह्य हुँदैनथ्यो। त्यसैले, राणा सरकारले चेक जाँच गर्न टोली पठायो। चतुर केवि सिंहले दुईवटा झ्याल छोपछाप पारेर ५५ भन्दा कम झ्याल रहेको निष्कर्ष लिएर टोली फर्कियो। यहाँ पनि केवि सिंहले चाहेको काम पूरा गरे। २०१५ सालको आम चुनावमा रोल्पाको थवाङमा सात सय तीन मतदातामा सात सय मत प्राप्त गरेको थियो, नेपाल कम्युनिस्ट पार्टीले। यसबाट के प्रष्ट हुन्छ भने ०१५ सालअघि देखि नै रोल्पाली खाम मगर बस्तीहरु कम्युनिस्ट पार्टीका आधार क्षेत्र थिए। मोहनविक्रम सिंह र वर्मन बुढाको यहाँ महत्वपूर्ण भूमिका थियो, जुन आज पर्यन्त छँदैछ। ०३७ सालमा पहिलोपटक यो गफाडी रोल्पाको थवाङ पुगेको थियो। जनमत संग्रहको राजनीतिक चहलपहल मनग्यै चलेको थियो। भेटघाटका लागि एकाबिहानै कुनै मगरको घरमा पुग्यो भने चियाको बदला घरपालुवा रक्सीको गिलासले स्वागत गरेका थिए। पहिलोपटक हालेको गिलासको रक्सी खालि नहुँदै पुनः थपिँदै गर्ने अतिथि सत्कार यहाँको आफ्नै संस्कृति हो। अविवाहित तरुनी केटीहरु, विधवा अथवा सम्बन्ध विच्छेद गरेर बसेका महिलाहरु, जसको नियमित आयश्रोत छैन, उनीहरुका लागि जाँड, रक्सी बनाउनु र बिक्री गर्नु सामान्य चलन हो। अतिथि सत्कार, धार्मिक पूजाआजा, चाडपर्व र उपहारको आदान–प्रदानमा रक्सी अनिवार्य वस्तु हो।

0 comments:

Post a Comment