Pages

Subscribe:

Rukum

.

Wednesday 8 September, 2010

पर्यटकीय स्थल बन्दैछ रुकुमको स्यार्पूताल


रुकुम। चारैतिर डाँडापाखाले घेरेको, अनि डाँडापाखाकोबीचैमा एउटा रमणीय नीलो सुन्दर ताल छ । त्यतिमात्र होइन त्यो तालको वरपर सुन्दर बस्तीहरू चिटिक्क मिलेर बसेका जस्ता देखिन्छन् ।
तालको नजिकै गएर हेर्ने हो भने माछाका भुरा सल्बलाउँदै गरेको मनमोहक तथा रमाइलो दृश्य देखिन्छ । यस्तो दृष्य रुकुमको स्यार्पूतालमा पुग्ने जो कोहिले अब सजिलै देख्न सकिन्छ ।
रुकुम जिल्लाको सदरमुकाम खलङ्गादेखि चार कोश उत्तरपूर्वमा पर्ने बाँफिकोट गाविसको स्यार्पू भन्ने ठाउँमा अवस्थित स्यार्पूतालमा पुगेका जोकोही सर्वसाधारणले यस्तो वर्णन गर्न चुक्दैनन् ।
केही वर्ष अघि त्यहाँ पुग्ने जोकोही पर्यटकले यस्तो पर्यटकीय सम्भावनाको ताल प्रचारप्रसारको कमीले गर्दा पछाडि परेको गुनासा पोख्ने गर्दथे । अब भने साँच्चिकै स्यार्पूताल पर्यटकीय स्थलका रूपमा विकास हुँदैछ ।
नेपालकै प्रसिद्ध तालहरूको सूचीमा पर्ने स्यार्पूताल बाँफिकोट गाविसको वडा नं ३, ७, ९ लगायतका वडाको बीचमा पर्दछ । स्यार्पूताललाई साँच्चिकै पर्यटकीयस्थलका रूपमा विकास गर्न रुकुममा पहिलो पटक स्यार्पू महोत्सव हुने भएको छ । स्यार्पुताललाई लक्षित गरेर मनाउन लागिएको यो महोत्सव आगामी असोज ११ देखि १५ गतेसम्ममा सञ्चालन हुँदैछ ।
शनिबार बिहान बसेको स्यार्पू महोत्सव मूल समारोह समितिको बैठकले महोत्सवको ५० प्रतिशत काम सम्पन्न भइसकेको बताएको छ । उक्त महोत्सव सफल पार्नका लागि विभिन्न समिति तथा उपसमिति गठन भएका छन् ।
उक्त महोत्सवमा राष्ट्रपति रामवरण यादवलगायतका उच्चपदाधिकारीलाई बोलाउने मूल समितिले निर्णय गरेको छ । स्यार्पु महोत्सवका लागि स्थानीयस्तरदेखि गाविस, जिल्ला विकास समिति, गाविसका बुद्धिजीवी, काठमाडौमा निवासी, पर्यटन बोर्ड, नेपाल सरकारलगायतले आ-आफ्नो ठाउँबाट सहयोग गरिरहेको मूल समारोह समितिले जानकारी गराएको छ ।
जिल्ला र जिल्लाबाहिरबाट गरी करिब सातलाख बराबरको आर्थिक सहयोग प्राप्त भएको समितिले जानकारी दिएको छ । उक्त महोत्सवमा रुकुम जिल्लामा उत्पादन भएका सामान, राडिपाखी, स्यार्सागुम्वालगायत विभिन्न जातको बहुमूल्य जडीबुटी राखिने भएको छ । महोत्सवमा ५० वटा स्टल राखिने बताइन्छ ।
बाउन्न पोखरी ५३ टाकुरीले प्रख्यात रुकुम जिल्ला प्राकृतिक रूपमा सुन्दर भएर पनि प्रचारप्रसारको कमिले ओझेलमा परेको यो ठाउँलाई उजिल्याउन स्यार्पु महोत्सव हुने भएको हो । रुकुम जिल्लाको बाँफिकोट गाविसमा रहेको स्यार्पुतालको नामबाट जुराइएको स्यार्पु महोत्सवमा जिल्लाका विभिन्न पर्यटकीयस्थलको बारेमा पनि जानकारी गराइने कार्यक्रम छ ।
आगामी असोज ११ गतेदेखि १५ गतेसम्मा मनाइने उक्त महोत्सव सफल पार्न अहिले मूल आयोजक समिति तदारुकता साथ लागि परेको छ ।
रुकुम जिल्लामा साना र ठूला गरी दुई दर्जनभन्दा बढी ताल तथा पोखरी रहेका छन् । त्यस्तै रुकुम जिल्लाको उत्तरमा सिस्ने हिमाल पनि रहेको छ । जिल्लाका विभिन्न गाविसमा गरी करिब तीन दर्जनभन्दा बढी रमाइला र मनमोहक टाकुरी पनि रहेका छन् भने चौरजहारी फाँट, आठबीसकोट राडिज्यूला, माछिमी ज्यूला, बाँकेज्यूला, तकसेराको बुकी, मैकोटको पाटन, सानीभेरी र ठूलीभेरी नदीको दोभानलगायतका विभिन्न फाँट तथा स्थल उत्तिकै रमणीय छन् ।
महोत्सव सफल पार्नका लागि स्थानीयस्तरमा सर्वसाधारणलाई उत्साहित बनाउने उद्देश्यले गाउँ-गाउँमा घरदैलो अभियान सुरु गरिएको छ । रुकुमको स्यार्पुताल मात्र नभइ रुकुम जिल्लालाई पर्यटकीयस्थलको रूपमा विकास गर्न यो महोत्सव सहयोगीसिद्ध हुने महोत्सव संयोजक चन्द्रबहादुर केसीले बताउनुभयो ।
ताल वरपर चक्रपथ निर्माण गर्ने, जीर्ण अवस्थामा रहेका अतिथि भवन निर्माण, तालसम्म सडक खन्ने काम अन्तिम चरणमा पुगेको महोत्सवका सह-संयोजक हर्कसिंह खत्रीले बताउनुभयो ।
बाँफिकोट गाविसमा अवस्थित स्यार्पुतालको कुल क्षेत्रफल २.६ वर्गकिलोमिटर रहेको छ । उक्त स्यार्पूतालको गहिराई वर्षातको समयमा २३ मिटरसम्मा हुने गर्दछ भने हिउँदमा १८ मिटर गहिराइ हुने गर्दछ । वर्षातमा बाढी र पहिरोका कारण केही भू-भाग क्षति भएता पनि यही मौका छोपेर त्यसको संरक्षण र सम्वर्द्धन गर्न लागिएको छ ।
अहिले २०४६ सालमा निर्माण भएका अतिथि भवन मर्मत गरिएको छ भने स्यार्पु भ्युटावर पनि पुनःनिर्माण गरिएको छ ।

0 comments:

Post a Comment