Pages

Subscribe:

Rukum

.

Thursday 9 July, 2009

झाडापखाला व्यापक,जाजरकोट र रुकुममा एकैदिन १६ को मृत्यु

जे पाण्डे / जाजरकोटमा भीमबहादुर सिंह र


नेपालगन्ज, झाडापखालाको प्रकोप बढेका ठाउँमा मन्त्री र सचिवको टोली हेलिकप्टरमा दुई पटक घुमिसकेका छन् । औषधिसहितको चिकित्सक टोली खच्चड, भरिया प्रयोग गरी दुर्गम बाटो लम्कँदै छ । समयमै औषधि नपुग्दा प्रकोपबाट बुधबार मात्रै जाजरकोट र रुकुमममा आठ/आठ जना बिरामीको मृत्यु भएको छ ।
मन्त्रीहरूले हेलिकप्टर भ्रमण गरेर फर्केको २४ घन्टा नबित्दै जाजरकोटको पुन्मालगायत गाविसमा औषधि उपचार नपाई आठ जनाको मृत्यु भएको हो ।

वैशाखयता बढेको प्रकोपबाट कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सरकारी निकायमा छैन । अनौपचारिक क्षेत्र सेवाकेन्द्र -इन्सेक) ले जाजरकोटमा मात्र ७४ को मृत्यु भएको जनाएको छ । लह गाविस ८ का ५५ वषर्ीय बहादुर खडका र उनका २५ वषर्ीय छोरा कालीबहादुर खडका, ढिमे २ की २५ वषर्ीया गौरी नेपाली र उनकी ६ वषर्ीया छोरी कालिकाको मृत्यु भएको छ ।

मजकोट गाविस ४ का ३० वषर्ीया रूपा खडका, पुन्मा गाविस १ का ४८ वषर्ीय तीर्थ शाही र कार्ताग ४ का ६० वषर्ीय कुमार बस्नेतको पनि मृत्यु भएको हो ।

रुकुमको दक्षिणी भेगका तीन गाविसमा दुई दिनदेखि फैलिएको झाडापखालाले आठ जनाको मृत्यु भएको हो । गोतामकोट २ का गजे कामी, बले कामी, गोतामकोट ५ का मनमती विश्वकर्मा, ललिता मल्ल, जितबहादुर नाथ, पूर्तिमकाँडा ५ का देउरूपा परियार, पूर्तिमकाँडा ७ का रूपलाल पुन र मग्मा ३ का कली नेपालीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. विनोद गिरीले जनाए ।

प्रभावित क्षेत्रमा चिकित्सक अनुप कार्कीको नेतृत्वमा तीन टोली पठाइएको उनले बताए । जिल्ला अस्पतालमा पनि झाडापखालाका बिरामीको चाप बढेको छ ।

जाजरकोट जनस्वास्थ्य कार्यालयले स्वास्थ्य विभागलाई महामारीको अवस्थाबारे जानकारी दिई औषधि र स्वास्थ्यकर्मी पठाएर सघाउन भने पनि विभागले चिकित्सक र औषधि पठाउने प्रयास गरेको छैन ।

एमाले र कांग्रेसलगायत राजनीतिक दलले स्वास्थ्यमन्त्रीँूग औषधि र चिकित्सक छिटो पठाउन हेलिकप्टर माग गरेका छन् । 'रोग प्रभावित क्षेत्रका चार स्थानलाई केन्द्र बनाएर औषधिसहित चिकित्सक पुर्‍याउनुपर्‍यो भनेका थियौं,' एमाले सचिव लालबहादुर शाहीले भने, 'इन्धन छैन भनेर टोली फक्र्यो ।' दलहरूले खगेनकोट, थल, लिम्सा र दहका बासिन्दालाई उपचार गर्न व्यापक रूपमा स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।

मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले छिटो साधन नपाएकाले स्वास्थ्य टोली र औषधि पैदल मार्गबाट गएको जनाएको छ । साधन नपाएकाले कोही हिँडेर गएका छन् भने कोही नेपालगन्जबाट चौरजहारीसम्म जहाजमा र त्यसपछि हिँडेर जाँदैछन् । स्वास्थ्यकर्मी औषधिसहित भरिया र खच्चडमा बुधबार बिहान पैदलै गाउँतिर हिँडेका छन् । क्षेत्रीय निर्देशक आनन्द श्रेष्ठले भने, 'हिँडेर र घोडामा औषधि बोकाएर पठाउनुपरेको छ ।' सदरमुकामबाट हिँडेर जाँदा ३/४ दिन लाग्ने हँुदा बिरामी समयमै उपचार पाउनबाट वञ्चित हुने भएका छन् ।

स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, स्वास्थ्य राज्यमन्त्री खडगबहादुर सार्की, जाजरकोटका विधायक कालीबहादुर मल्ल र स्वास्थ्य सचिव दीर्घसिंह बमसहितको टोलीले नलगेकाले स्वास्थ्यकर्मीहरू पैदल महामारी फैलिएका ठाउँतर्फ हिँडेका

हुन् । हेलिकप्टर भ्रमणमा रहेका मन्त्री, विधायक र सचिवको टोली दशेराको थल गाउँमा उत्रेको थियो । औषधि उपचार नै नपाई सर्वसाधारणले ज्यान गुमाइरहेका बेला उक्त टोली सीमित औषधि छाडेर फर्केको थियो ।

क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले पठाएको औषधि पनि छिटो ढुवानी नहुँदा प्रभावित क्षेत्रमा पुगेको छैन । स्टोरले विश्व स्वास्थ्य संगठनबाट प्राप्त आपतकालीन औषधिको किट सेट १ सय ४७ कार्टुन र झाडापखालाका लागि स्लाइनसहितको ८५ कार्टुन औषधि पठाएको ४ दिन भइसके पनि प्रभावित ठाउँमा पुग्न बाँकी नै छ । जिल्लाका दुई स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन् ।

इन्सेकले २१ ग्ााविसमा महामारी फैलिएको र मृत्यु हुनेको सख्या ७४ पुगेको जनाएको छ । क्षेत्रीय संयोजक भोला महतले विज्ञप्तिमार्फत जनाएअनुसार ती क्षेत्रमा ६ हजारभन्दा बढी बिरामी भएका छन् ।

स्वास्थ्य केन्द्र पुग्नै नपाई बिरामीको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. कृष्णहरि सुवेदीले टेलिफोनमा कान्तिपुरलाई बताए । सुवेदीले रोग प्रभावित गाउँमा पर्याप्त औषधि नभएको र स्वास्थ्य टोली परिचालन हुन नसकेको बताए ।

चिकित्सक नहुँदा कतिपय रोगी झारफुकतिर लाग्न बाध्य छन् । कोर्तागस्थित चैते, मजकोटको ४ स्थित डाँडाकोट र नायकबाडा १ स्थित भैलोखाना, ढिमेको तर्पेनालगायत दर्जनौं दुर्गम गाउँ स्वास्थ्यकर्मी र औषधि छैनन् । मजकोटका स्थानीय बासिन्दा सुरेन्द्रबहादुर सिंहले भने, 'ती गाउँहरूमा औषधि उपचार नपाएर मृत्यु भएको छ ।'

जिल्लाको ३० गाविसमध्ये कोर्ताग, लह, पुन्मा, मजकोट, ढिमे लगायतका गाउँ बढी प्रभावित छन् । जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा उपचारका लागि सयौं बिरामी आएका छन् । सल्यानमा भने झाडापखाला प्रभावित सुइकोट गाविसका १,४, ५, ६, ७ र ८ नम्बर वडामा १ सय १६ जनालाई उपचार गरेको र एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कुवाको दूषित पानी र सडेगलेको खाद्यान्न खाएका कारण त्यहाँ झाडापखाला फैलिएको डा. उमाशंकरप्रसाद चौधरीले बताए ।



Posted on: 2009-07-08 21:01:17 Source: Kantipur

0 comments:

Post a Comment