Pages

Subscribe:

Rukum

.

Sunday 30 August, 2009

राडी व्यवसायबाट आत्मनिर्भर

कृष्णप्रसाद गौतम
रुकुम, ग्रामीण भेगका महिलाले बुनेका राडीपाखीले राम्रो बजार पाउन थालेपछि उनीहरू राम्रो कमाइ गरेका छन् । विदेशमा समेत माग बढ्न थालेकाले उनीहरू हौसिएका छन् ।
हुकामकी सुभद्रा बुढा राडी -कम्बल) बेचेको पैसाले घरखर्च टर्ने गरेको बताउँछिन् । २०५६ सालमा श्रीमान् कालीबहादुरको माओवादी- सेनाको भिडन्तमा परी मृत्यु भएपछि तीन सन्तानको लालनपालनको जिम्मेवारी उनकै काँधमा परेको थियो । २०६० सालबाट राडी बुनेर सदरमुकाम बस्दै आएकी उनले यसैबाट मुसीकोटमा दुईकोठे पक्की घर बनाएकी छन् ।
तीन छोराछोरीमध्ये दुईलाई सदरमुकामका बोर्डिङ र एकलाई सरकारी विद्यालयमा पढाएकी छन् । उनी सातामा एउटा राडी तयार पार्छिन् । तकसेरा-६ की बिर्मी पुन पनि यसैबाट आत्मनिर्भर बनेकी छन् । एउटा राडीको मूल्य ८ सयदेखि २ हजार रुपैयाँसम्म पर्ने उनी सुनाउँछिन् । 'आम्दानी राम्रो भएकाले राडी बुन्ने पेसा रोजेको,' उनले सुनाइन् । 'मासिक ४ हजारदेखि ७ हजारसम्म आम्दानी हुन्छ,' उनले भनिन्, 'बजारको पनि समस्या छैन ।'
सजिलै बिक्री हुने र राम्रो आम्दानी हुने भएकाले महिलाहरू यो पेसाप्रति आकषिर्त भएका हुन् । भारत र चीनमा समेत यसको निर्यात हुन थालेपछि उनीहरूको व्यवसाय बढेको छ । जिल्लाको उत्तरी भागमा रहेको मगरबस्तीका महिलाहरूले राडी बुनाइलाई पेसा बनाउन थालेपछि भेडाको ऊनको पनि माग बढेको छ । भेडाको ऊनबाट निर्मित राडीपाखीले व्यावसायिकता हासिल गरेको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख सुनिलकुमार शर्मा बताउँछन् । उनका अनुसार घरेलु कार्यालयले वर्षमा एकपटक राडीपाखी बुनाई तालिम सञ्चालन गर्दै आएको छ । तकसेरा र हुकामका आधाभन्दा बढी पुरुष वैदेशिक रोजगारमा छन् ।
Posted on: 2009-08-30 23:57:49 source:kantipur

0 comments:

Post a Comment