Pages

Subscribe:

Rukum

.

Wednesday 6 May, 2009

विकासले पिछडिएको रुकुमकोट

विकासले पिछडिएको रुकुमकोट चारैतिर पहाडले घेरेको समथर फाँट! बीचमा मनोरम रुकुमकोटको बस्ती! उत्तरतिर सेताम्मे सिस्ने हिमाल, उसैको काखबाट रुकुमकोट हुदै अबिरल बग्ने भेरी नदी! रुकुमकोटको काखमा कमलदह, छिप्रीदहलगायतका साना―साना तालहरु। यहि हो रुकुमकोटको पहिलो परिचय ! रुकुमको सदरमुकाम खलङ्गादेखि ८ कोष उत्तरमा पर्ने रुकुमकोट प्रकृतिको खानी नै हो। बुढाबुढीहरु यसलाई 'कान्छो नेपाल' पनि भन्ने गर्छन् अर्थात अर्को काठमाडौं उपत्यका। उहिल्यै काठमाडौं अर्थात् नेपाल जानेहरुले कस्तो छ काठमाडौं? भन्दा रुकुमकोट जस्तै छ भन्नेे गर्थे। त्यही त यहाँका गाउलेहरु अहिलेसम्म भन्ने गर्छन् हामी त कान्छो नेपालका बासिन्दा। तर काठमाडौं दिन रात परिवर्तन भईरहदा कान्छो नेपाल भने प्रकृतिको मनोरम सौगात लिएर विकासको प्रतिक्षामा छ। चारैतिर घेरेको पहाडमा मौसमअनुसार फुल्ने कमल, लालीगुँरास, पैयँु, डिम्मुरलगायतका सयौं फूलले यो गाउूको शोभा कहिल्यै नष्ट हुन दिदैनन्। सधै हरियो घुम्टो ओढेर छातीमा हजारौ फूल फूलाउनु यहाँको विशेषता हो। त्यसैले होला सायद रुकुमकोट―३ रुकुमका ५० वर्षीय कृष्णबहादुर ओलीलाई रुकुमकोट सधै दुलहीझै सिङ्गारिएकोजस्तो लाग्ने गर्छ रे! रुकुमकोटको त्यही पाखामा कयौं प्रेम र प्रेमीहरुले घाँस दाउरा बनाउँदा बनाउँदै प्रेम साटेका होलान् त कतिले जीवनको देहलिला नै त्यही पहाडमा समाप्त गरे होलान् तर रुकुमकोट कहिल्यै जीवन्त हुन सकेन। जनयुद्धको समयमा छापामारको आश्रमस्थल बनेर नेपालको क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याएको रुकुमकोटलाई नयाँ नेपालले पनि नसंझदा निराशाको बादलमा ऊ रुमल्लिन बाध्य भएको छ। स्थानीय वृद्ध समाजसेवी गम्भीर थापा भन्नुहुन्छ―'कति नेताले रुकुमकोटलाई पर्यटकीय स्थल बनाउँछौ भने तर भोट बटुल्नेबाहेक बाँकी केहि गर्न सकेनन। अब नयाँ नेपालमा केही हुन्छ कि भनेर प्रतिक्षागरी बसेका छौं।' रुकुमकोटबाट केही दुरीमा रहेको देउराली ओढार, अध्याँरे गुफा पनि यहाँका पर्यटकीय संभावना बोकेका स्थानहरु हुन् तर के गर्ने माल पाएर चाल नपाएपछि भनेझैं नेपालको सरकारले कहिल्यै हेर्दैन यहाँका बासिन्दा यस्तै गुनासो गर्ने गर्छन्। विभिन्न जातिका बोट विरुवा र पशुपंक्षीहरुको त यहाँका पाखा पखेरा खानी नै भने पनि हुन्छ स्थानीय बुद्धिजिवी चेताराम नेपाली भन्नुहुन्छ― 'यहाँ काफल, टुसा, डिम्मुर र कमलको स्वादले जो कोहीलाई पनि थप आकर्षण बन्न सक्छ। सदरमुकामबाट रुकुमकोट पैदल वा घोडाको यात्रा पनि धेरैलाई रमाइलो नै लाग्छ। नलागोस् पनि कसरी भेरीको तिरैतिर मनोरम दृश्यहरु अवलोकन गर्दै हिडेपछि। बाटामा पाईने चिउरी, लालुपाते तथा अनेकौ प्राकृतिक फूल र स्थानीय बजारमा पाईने दही र केराको स्वादले लामो हिडाईको थकानै मेटिन्ो गर्छ। भलखोलाको माछा, घीउ र भात त झन् यस बाटोमा हिड्नेहरुका लागि अविष्मरणीय खाना नै हो। त्यति मात्रै हैन घरमा आउने साँझका पाहुनालाई देवता संझेर ढिडो र दही खुवाउने र निःशुल्क सुत्ने व्यवस्था गर्ने यहाँको चलन मानवताको सजीव उदाहरण हो। 'हामी त पर्यटकको सेवा गर्छौं हजुर आउनु पो पर्यो' ―यहाँका बासिन्दाको यो बोलीले पर्यटकको तीव्र स्वागत गरिरहेको छर्लङ्ग देख्न सकिन्छ। जीवनका उकाली ओरालीमा रुकुमकोटको यात्रा गर्ने जो कोहिलाई पनि दोहोर्याउन बाध्य पार्ने यहाँको सौन्दर्य मनोरम स्थल र डाँडाकाँडा तथा पहाड, कुना, कन्दरा र हरियालीले सधै स्वागत गरि मुस्कुराईरहका हुन्छन्। ५२ पोखरी र ५३ टाकुरी रहेको यहाँको 'कान्छो नेपाल' संरक्षणको अभावमा झनपछि झन तालतलैयाहरु पुरिदै जाँदा लोपोन्मुख अवस्थामा रहेको छ। यहाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लोपोन्मुख तालको संरक्षण गर्न सके यसले नयाँ रुपमा कोल्टे फेर्न सक्ने थियो कि?
Reply to your postDelete post

0 comments:

Post a Comment