Pages

Subscribe:

Rukum

.

Monday 24 August, 2009

त्यो खाराको खरानी छ उस्तै

२०५६ फागुन १० गते । खारामा चिसो घटेको थिएन । अझ रातैभरि हिउँ परेर डाँडाकाँडा छपक्कै ढाकिएको थियो । हिउँदको वेला त्यति काम नभएकाले गाउँले सबै घरमै थिए । आँखा मिच्दै स-साना पेटहरू बासी ढिडोको पर्खाइमा अगेनावरिपरि झुम्मिँदै थिए । आकाश अघिल्लो रातजस्तै थियो, पृथ्वी आफ्नै गतिमा घुमिरहेको थियो । तर, पूर्ववत् गति र यतिमा त्यहाँ एकाएक झड्का लाग्छ, एकाएक ताण्डव-नाच मच्चिन्छ र घर-आँगन पनि एकाएक मसानघाट हुन्छ ।

यो रुकुमको खाराको घटना हो । अघिल्लो रात सुत्दा कसैले पनि त्यस्तो त्रासद घटनाको कल्पना गरेका थिएन् । तर, हेर्दाहेर्दै त्यो सुन्दर बस्ती एक घन्टामै खरानी-खरानी भयो । १५ जनाको जीवन एउटै चिहान भयो । ७१ घर जलेर खरानी भए । साना नानीले अघिल्लो रात सँगै सुतेका बुबालाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे ।


'गृहमन्त्रीको आदेश छ, कसैलाई पनि नछोड्नू, सबैलाई मास्नुपर्छ,' तत्कालीन इन्स्पेक्टर शम्भु सुवेदी हुकुम दिँदै थिए । गाउँलेहरू आफ्नो मर्ने पालोमा पंक्तिबद्ध थिए । त्यहाँ मारिनेहरू कोही पनि बन्दुक बोकेका र राज्यविप्लव मच्चाएकाहरू थिएनन् । उनीहरू नेपाली कांगे्रसका सक्रिय नेता र कार्यकर्ता भएको प्रमाणित गर्न परिचयपत्र उनीहरूको घाँटीमा झुन्डिरहेको थियो । तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री खुमबहादुर खड्काको आदेशपालकले उनीहरूकै नेता र कार्यकतालाई लाइन लगाएर गोलीले मात्र भुटेनन्, कांग्रेसले नै बाँडेको परिचयपत्र हत्यापछि उनीहरूकै मुखमा कोचिदिए ।


सोही घटनामा गोली लागेका, तर लासको थुप्रोमा लासैजस्तो गरी ज्यान जोगाएका टन्टवीर वलीले खारा घटनाको बखान यसरी नै गरे । त्यतिवेला गाउँमा एकजना छिमेकीको घर बनाउने काम चलिरहेको थियो । 'म त्यहीँ मिस्त्रीको काम गर्थें, बिहान ७ बजे काममा जान लाग्दा गोली चलेको आवाज सुने । खोलापारीबाट प्रहरीहरू गोली चलाउँदै हाम्रो गाउँतिर आउँदै थिए । प्रहरीहरू खोला तरिसक्नेबित्तिकै सुरुकै घरमा आगो लगाउन थाले । घर दनदनी बल्न थाल्यो, मान्छेहरू चिच्याउँदै-रुँदै भाग्न थाले । हामीहरू डरले भित्र पस्यौँ । प्रहरीहरू आगो लगाउँदै माथि गाउँतिर उक्लिए,' उनले भने ।

टन्टवीरका आँखा त्यो दिन सम्झँदै गर्दा आज पनि उत्तिकै रसाएका छन् । 'जन्म दिने बाबु र एउटै कोखबाट जन्मेको दाइलाई आफ्नै अगाडि हत्या गरिँदा कसको मन पो रुन्न र ?' त्यो कहालीलाग्दो दिन सम्भझँदै टन्टवीरले भने, 'गाउँ पूरै खरानी बनाइसकेपछि प्रहरीहरू माथितिर गए, हाम्रो घरतिर आएनन् । हाम्रो घर नजल्ने भयो भन्ने आशा पलायो ।' टन्टविरका बाबु त्यतिवेला कांगे्रसका तर्फबाट वडाध्यक्ष थिए । उनी पनि कांगे्रसका सक्रिय कार्यकता थिए । 'बुबाले हामी सरकारका मान्छे हौं, कांग्रेसकै सरकार छ, केही गर्दैन, सबै परिवार सँगै बसौँ भन्नुभयो । सबैजना एकै ठाउँमा बसेका थियौं । दिनको १२ बजतिर प्रहरीहरू हाम्रो घरतिर ओर्लिए । ठुल्दाइ गोबर बोकेर खेतमा जान लाग्नुभएको थियो । प्रहरीको नाइकेले दाइलाई यहाँ आउनुहोस् भनेर बोलायो । त्यसपछि मलाई पनि बोलायो र लाइनमा बस्न भनियो । वरपरका घरबाट लोग्ने मान्छे जति तानेर लाइनमा बसायो । बुबाले हामी सबैलाई कांग्रेसको परिचयपत्र बनाइदिनुभएको थियो । त्यो दिन हामीले परिचयपत्र आ-आफ्नो घाँटीमा झुन्डाएका थियौं ।'

टन्टवीरलाई त्यस दिनको घटना सपनाजस्तो लाग्छ । गोलीले क्षतविक्षत लासका थुप्रा अहिले पनि उनको आँखामा झल्झली आउँछ । उनले भन्दै गए, 'हामीले सबैले परिचयपत्र झुन्डाएका थियौं । सबैभन्दा अगाडि बुबा हुनुहुन्थ्यो, त्यसपछि ठुल्दाइ, अनि म र क्रमशः मेरो पछाडि अरू थिए । बुबालाई प्रहरीको नाइकेले गोली ठोक्ने आदेश दियो । बुबाले प्राणको भीख माग्दै नमस्कार गरिरहनुभएको थियो । तर, नमस्कार गरेकै हातमा गोली हान्यो, बुबाका दुवै हात उडे, उहाँ ढल्नुभयो । मैले बाँच्ने आशा देखिनँ, होसहवास् उड्यो । क्रमशः गोली हान्दै आयो, ठुल्दाइ निधारमा गोली लागेर ढल्नुभयो । मेरो पालो आयो, वरिपरिका रूखहरू घरहरू घुमेजस्तै लाग्न थाल्यो । एउटै प्रहरी दसवटा देख्न थालेँ । ड्याम्म आवाज आयो । पाखुरामा केले छेडेको जस्तो लाग्यो, दाइको लासमाथि घोप्टिएँ, बुबा पानी भन्दै छट्पटाउँदै हुनुहुन्थ्यो । गोली क्रमशः अरूलाई हानियो । नाइकेले भन्यो, 'सबैलाई दोहोरो गोली हान्, कोही मरेका छैनन् ।' धेरै शरीर ममाथि घोप्टिएका थिए । फेरि दोहोरो गोली हानेर बुबालाई मार्‍यो, र परिचयपत्र मुखमा कोचिदियो । मलाई पनि मर्‍यो कि मरेन भनेर छामे । म मरेको जस्तै गरेर लासको थुप्रोमै घोप्टिरहेँ । छाम्नेवाला प्रहरीले सबै मरिसके गोली किन त्यसै खर्च गर्ने भनेपछि प्रहरीहरू गए ।'

'गाउँमा घरहरू जलेको धुवाँले आँखा देखिँदैनथ्यो । एकैछिन् पछि मुसिकोटबाट आएको हेलिकोप्टर धुवाँले गर्दा बस्न नसकेर फर्क्यो,' टन्टावीरले भने, 'त्यसपछि म बिस्तारै उठे । मेरो पाखुराको कुमबाट रगत बगिरहेको थियो । आमाले रुँदै गोली लागेको ठाउँमा कपडा बाँधिदिनुभयो । प्रहरी गएपछि गाउँलेहरू आए र रगत नरोकिएको मेरो हातलाई डोरीले दलिनमा झुन्डाएर भुइँमा सुताए । रगत चुहिने ठाउँमा कपडा थापिएको थियो । रातभरि आमाले घाउमा तेल र बेसार लगाउनुभयो । रगत चुहेर म पल्टेको ठाउँ आहाल परेको थियो । बुबा र दाजुको लास नउठाउन्जेल हामी कसैले केही खाएनौँ । पाँचौं दिन गाउँलेले लासहरू गाडे ।'

हत्याका लागि तयार पारिएको लाइनबाट भागेर बाँच्न सफल भएका थिए- नरबहादुर वली । त्यही दिन उनको आफ्नो छोरा लालबहादुर वलीको हत्या भएको थियो । उनले भने, 'गाउँमा प्रहरीले केही दिनअघिदेखि नै गस्ती गरिरहेको थियो । गाउँका कुखुरा, घ्यू, मह सबै लुटिएको थियो ।' तर, त्यस दिन भने प्रहरी एकाबिहानै गोली चलाउँदै गाउँमा पस्यो । अघिल्लो दिन हिउँ परेकाले बाहिर निस्कन गाह्रो थियो । 'परिवारका सबैजना अगेनावरिपरि बसेका थियौं । प्रहरी खोलावारि आगो झोस्दै उक्लियो । केही समयमै पूरा गाउँ खरानी भयो । घरभित्रका पैसा अन्नपात सबै जलिसकेका थिए । दस बजेतिर माथि डाँडामा हेलिकोप्टर बस्यो । प्रहरीले गाउँबाट लगेका कुखुरा र रक्सी खाएछन् ।'

वलीले भने, 'भोलिपल्ट १२ बजेतिर प्रहरी गाउँमा आयो म भैसी चराउँदै थिएँ । एकजना प्रहरीले मलाई बोलायो र राइफलको कुन्दैकुन्दाले हान्यो । डोप्याउँदै लगेर मलाई पनि लाइनमा लगायो । र, गोली हान्न थाल्यो । सकिन्छ भने भाग्नुपर्छ, आखिर मर्नु नै छ भने । मैले यस्तै ठानेँ र पछाडि फर्केर आँखा चिम्लेर भागेँ । केही प्रहरीहरू मेरो पछाडि गोली हान्दै दौडिए । अल्लि तल पुगेर म बाँसको झाडीभित्र कोचिएँ र बाँचे । बाँसको झाडीबाट निस्केर घरतिर लाग्दै गर्दा प्रहरीहरूले गाउँ छोडिसकेका थिए । गाउँलेहरूको लासको थुप्रो थियो, रगतको आहाल थियो । हामी गाउँलेहरू राति नै सदरमुकाम गयौँ । सदरमुकाममा प्रहरीले खाराका माओवादी भन्दै बन्द कोठामा कोचेर सबैलाई चुट्नसम्म चुट्यो । रातभरि सिमेन्टमा नांगै सुतायो । हामीलाई भोलिपल्ट फेरि खारातिर लखेटिदियो ।'

त्यस दिन हेलिकोप्टरले ओसारेका प्रहरी गाउँमा मात्र होइन्, जंगलभरि थिए । दुईजना गोठाला पनि मारिए । गोरुको आड लिएर बाँचेकी पार्वती खड्का भन्छिन्, 'हेलिकोप्टरले चारैतिरबाट गोली बर्साउन थाल्यो, दुईजना साथी र गाई-गोरु हेलिकोप्टरको निसाना परेर ठहरै भए । होसहवास थिएन । चार हातखुट्टा टेकेर घरमा आइपुग्दा श्रीमान्को हत्या भइसकेको रहेछ ।'

त्यस दिनको समाचार रेडियो नेपालले पनि प्रसारण गरेको थियो, मुठभेडमा १५ जना माओवादीको मृत्यु भएको र हातहतियार बरामद भएको भन्दै । खारा घटनामा कांग्रेसका वडाध्यक्ष त्रिमान वली, पार्टी सदस्यहरू धनबहादुर वली, देउमाया खत्री, गोपाल खत्री, लालबहादुर खत्री, टीकारम खत्री, हेमन्त खत्री र सर्वसाधारण गाउँलेहरू गोविन्द खड्का, देवीलाल, खर्कबहादुर, भद्रबहादुर, लक्ष्मी, लालबहादुर, प्रवीण खड्काको हत्या भएको थियो । २०५६ सालमा दनदनी बलेको खारामा अहिले समयको मलमबाहेक अरू केही सुख-शान्ति छैन । गाउँलेहरूले अहिलेसम्म न त राज्यबाट क्षतिपूर्ति पाएका छन्, न त राहत नै । गोली हान्न आदेश दिनेहरूको चुरीफुरी उस्तै छ । तर, खाराबासीको एक्लोपन र चिसो चुल्हो जस्ताको तस्तै छ । खरानी पारिएका घरहरू अहिलेसम्म व्यवस्थित हुन सकेका छैनन् ।

बितेको दशकको कहानी छ उस्तै

हेर, त्यो खाराको खरानी छ उस्तै !


Source: Naya Patrika(23/08/2009 07:46:00 शान्ता अधिकारी)

0 comments:

Post a Comment