Pages

Subscribe:

Rukum

.

Thursday 27 August, 2009

मध्यपहाडी राजमार्ग फागुनभित्र पूर्वलाई राजधानी जोड्ने

विकास थापा
काठमाडौं, तराई मधेस बन्द वा चक्काजाम हुँदा राजधानीबाट पूर्वाञ्चल जान अब कुनै समस्या हुनेछैन । बहुचर्चित मध्यपहाडी राजमार्ग -पुष्पलाल मार्ग) अन्तर्गतको खुर्काेट-घुर्मी खण्ड आगामी फागुनदेखि पूरा हुँदैछ । यो खण्ड पूरा भएपछि पूर्वाञ्चलका सबै पहाडी र तराई जिल्ला पुग्न सकिनेछ ।
हाल एक हजार किलोमिटरको पूर्व पश्चिम -महेन्द्र) राजमार्ग मात्र छ । ओखलढुंगा, उदयपुर र सिन्धुलीको सीमा पर्ने घुर्मीदेखि सिन्धुलीको खुर्काेटसम्म ६३ किलोमिटर सडकको ट््रयाक फागुनसम्ममा खोलिसक्ने गरी सडक विभागले निर्माण गरिरहेको छ ।
हाल घुर्मीसम्म उदयपुर, ओखलढुंगा र दिक्तेलबाट गाडी सञ्चालन भइरहेको छ । घुर्मीबाट काठमाडौं आउन मोटरमा तीन घन्टा मात्र लाग्नेछ ।
बनेपा-बर्दिबास राजमार्गअन्तर्गत सिन्धुलीको खुर्काेटसम्म पिच भइसकेको छ । 'यो वर्ष जसरी पनि घुर्मीसम्मको ट्रयाक खोलिसकिनेछ,' मध्य पहाडी राजमार्गका प्रमुख प्रकाश बस्नेतले बताए, 'खुर्काेट-घुर्मी खुलिसकेपछि तराई बन्द हुँदासमेत राजधानीलाई पूर्वसम्म जोड्ने दोस्रो वैकल्पिक मार्ग हुनेछ ।'
गत वर्षदेखि निर्माण प्रारम्भ भएको १ हजार ७ सय किलोमिटर लामो राजमार्गको खुर्काेट-घुर्मी एउटा खण्ड हो । पाँचवटै विकास क्षेत्रका विभिन्न खण्डमा पर्ने ७ सय किलोमिटरको ट्रयाक एकसाथ खोल्ने कार्य भइहेको आयोजना प्रमुख बस्नेतले जानकारी दिए ।
मध्य पहाडी राजमार्गको कुल लम्बाइमध्ये एक हजार किलोमिटर बनिबनाउ छ । यो राजमार्ग सिक्किमको सिमाना नजिक पाँचथरको च्याङथापुबाट सुरु भएर बैतडीको झुलाघाटसम्म निर्माण हुनेछ । यसअन्तर्गत च्याङथापुदेखि इलामसम्म, तेह्रथुमको म्यालुङदेखि वसन्तपुर हुँदै धनकुटाको हिलेसम्म बाटो निर्माण गर्ने लक्ष्य छ ।
हिलेदेखि भोजपुर हुँदै खोटाङको दिक्तेलसम्म र त्यहाँबाट ओखलढुंगाको हिलेपानीदेखि सिन्धुलीको खुर्काेटसम्म सडक निर्माणको प्रस्ताव छ ।
खुर्काेटबाट काठमाडौं-पोखरा- बाग्लुङ र रुकुमको बुर्तीबाङ निर्माण हुनेछ । बुर्तीबाङबाट जाजरकोट-दैलेख कणर्ालीनिरको राकम-मंगलसेन साँफेबगर-डोटी-डडेल्धुरा र बैतडीको झुलाघाट गएर टुंगिनेछ ।
आर्थिक वर्ष २०६६/६७ मा राजमार्गको सबै ट्रयाक खोल्ने लक्ष्य छ । यसको विस्तृत सर्भे पूरा भएको बस्नेतले जानकारी दिए । राजमार्ग निर्माणको कुल लागत २३ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ । कुल लागतमध्ये ट्रयाक खोल्न र पुल निर्माण गर्न १०/१० अर्ब र कालोपत्रे गर्ने ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यसैगरी फिदिम ताप्लेजुङमा पर्ने मेची राजमार्गमा पर्ने गणेशचोकदेखि भारतको सिक्कम जोड्ने ५५ किलोमिटर सडक खण्ड पनि यसै वर्ष पूरा हुने जानकारी बस्नेतले दिए । यो खण्ड सम्पन्न भएपछि पूर्वाञ्चलको इलाम, ताप्लेजुङका उत्पादन सीधै भारत निकासी गर्न सहज हुनेछ ।
चालू वर्षमा करिब ८० किलोमिटर ट्रयाक खोल्न, ७५ वटा पुलेसाहरू निर्माण गर्न, ३ सय मिटर टेवा पर्खाल बनाउन, २० किलोमिटर सडक स्तरोन्नति गर्न २६ वटा ठेक्का प्याकेज भएको छ ।
राजमार्गको सबैभन्दा चुनौतीपूर्ण रहेको २ सय १० किलोमिटर बुर्तीबाङ- मुसिकोट-चौरजहारी खण्ड हो । यो नै अन्तिम ट्रयाक हो । यो ट्रयाक निर्माण भइसकेपछि बैतडीदेखि ताप्लेजुङसम्मका सबै खण्ड पूरा भइसक्नेछन् । आयोजना प्रमुख बस्नेतका अनुसार राजमार्गको ट्रयाक खोल्ने कार्यपछि कालोपत्रे गर्न द्विपक्षीय तथा बहुपक्षीय दाताहरू इच्छुक छन् । विदेशी दातामध्ये यो राजमार्गलाई सहयोग गर्न सबैभन्दा बढी इच्छुक जर्मन सरकार देखिएको छ ।
Posted on: 2009-08-27 22:35:54 Source: Kantipur

0 comments:

Post a Comment