Pages

Subscribe:

Rukum

.

Tuesday 20 October, 2009

आपराधिक घटना बढ्यो

दाङ, २०६६ कार्तिक १ - राप्ती अञ्चलमा बर्सेनि आपराधिक घटना बढ्न थालेका छन् । जनसंख्या वृद्धि, बेरोजगारको संख्या बढ्नु, सामाजिक उथलपुथल हुनु जस्ता कारणले आपराधिक घटना बढ्ने गरेको सम्बन्धित विज्ञहरूको भनाइ छ ।

राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले तयार पारेको त्रिवषर्ीय अपराध तथ्यांकअनुसार प्रत्येक वर्ष अपराधका घटनाको संख्या बढिरहेको छ । तीन वर्षअघि राप्तीमा ४ सय ७ वटा मात्रै आपराधिक घटना भएकामा बितेको आर्थिक वर्षमा त्यो घटना बढेर ६ सय २ मा पुगेको छ । आर्थिक वर्ष २०६३/०६४ मा राप्तीमा ४ सय २ वटा, ०६४/०६५ मा ५ सय १३ र आव २०६५/०६६ मा ६ सय २ वटा आपराधिक घटना भएका छन् । यस आर्थिक वर्षको तीन महिनामा मात्रै १ सय ४३ वटा आपराधिक घटना भएका छन् । अपराधका घटनामध्ये सबैभन्दा बढी प्रत्येक वर्षजसो दाङमा भएका छन् ।

दाङमा तीन वर्षअघि २ सय ९० वटा मात्रै आपराधिक घटना भएकामा बितेको आर्थिक वर्षमा ३ सय ४५ वटा भएका छन् । त्यसपछि प्यूठानमा धेरै घटना भएका छन् । तीन वर्षअघि ५३ वटा मात्रै घटना भएकामा बितेको वर्ष १ सय ८ वटा भएका छन् । प्यूठानपछि रोल्पा तेस्रो नम्बरमा परेको छ । रोल्पामा तीन वर्षअघि २३ वटा मात्रै घटना भएकामा बितेको वर्ष ८० पुगेको छ । यसैगरी सल्यानमा तीन वर्षअघि २२ वटा घटना भएकामा बितेको वर्ष ७४ घटना भएका छन् । सबैभन्दा कम घटना हुुनेमा रुकुम परेको छ । रुकुममा तीन वर्षअघि २९ घटना भएकामा बितेको वर्ष ५९ मात्रै घटना भएका छन् ।

आपराधिक घटनामध्ये सबैभन्दा बढी आत्महत्याका घटना हुने गरेका छन् भने सबैभन्दा कम अपरहणका छन् । तीन वर्षमा राप्तीमा ५ सय ८३ वटा आत्महत्याका घटना भएका छन्, अपहरणको घटना एउटा मात्रै भएको छ । सार्वजनिक अपराध, कर्तव्य ज्यान, डाँका चोरी, ज्यान मार्ने उद्योग, ठगी, जीउ मास्नेबेच्ने, अवैध लागू औषध कारोबार, हातहतियार तथा खरखजाना, बलात्कारजस्ता घटना बढी भएका छन् ।

राप्तीमा बर्सेनि आपराधिक घटना बढ्नुमा बेरोजगारी समूहको संख्यामा वृद्धि हुनु, सामाजिक उथलपुथल कामय रहनु, समाजका प्रत्येक नागरिकले आपराधिक क्रियाकलाप नियन्त्रणतर्फ चासो नदिनु, सबै काम प्रहरीकै हो भनेर छोडिदिनु जस्ता कारण रहेको राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजबहादुर विष्टले बताए ।

'घटना नियन्त्रणको प्रमुख जिम्मेवारी त समाजको हुन्छ नि । हरेक नागरिकले आपराधिक घटना र व्यक्तिबारे प्रहरीलाई सूचना दिने, आफू सजग हुने गरेमा घटना नियन्त्रण गर्न सजिलो हुन्छ,' उनले भने, 'तर यहाँ त्यस्तो देखिएन । कुनै आपराध गरेको मान्छे हाम्रै समाजमा हुन्छ तर प्रहरी आफंैले खोजोस् भनेर मानिस पन्छिन्छन् । सबै काम प्रहरीको मात्रै हो भनेर छोड्दा घटना बढ्छन् । प्रहरी एक्लैले केही गर्न सक्दैन । हरेक नागरिकले सहयोग गनर्ुपर्छ ।' समाजमा जनसंख्या वृद्धि तथा बसाइँसराइ भइरहने र सो क्रममा विभिन्न थरी मानिसको जमघट हुने भएकाले पनि आपराधिक घटना बर्सेनि बढेको देखिने गरेको उनको भनाइ छ ।

बेरोजगार युवालाई व्यवस्थित गर्न नसक्दा नै आपराधिक घटना बढेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी बताउँछन् । 'बेरोजगारको संख्या धेरै छ । उनीहरूले उचित काम नपाउँदा आपराधिक क्रियाकलापमा लागेका छन्,' उनले भने, 'दाङमा यस्ता घटना धेरै देखिएका छन् । नियन्त्रणका लागि प्रहरी क्रियाशील छ तर सबैको सहयोग चाहिन्छ ।'

आपराधिक क्रियाकलापको वृद्धिसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले देखाएको सक्रियताका कारण अधिकांश घटनाका दोषी पक्राउ पर्ने गरेको प्रहरीको दाबी छ तर राजनीतिक हस्तक्षेप र विभिन्नखाले दबाबका कारण अपराधीलाई उचित कानुनी सजाय दिन नसकिएकामा भने प्रहरी दुखित छ ।
Source kantipur

0 comments:

Post a Comment