Pages

Subscribe:

Rukum

.

Sunday 25 October, 2009

दसैँ दशा भयो बादी परिवारलाई

तपाईँहरुले दशैँ मनाउनु भयो ? कस्तो भयो त यसपालिको दशैँ तपाईँहरुको। तपाईँहरुको दशैँभन्दा बिल्कुल फरक दशैँ मनाए रुकुमको वादी परिवारले। ती परिवारमा दसैँमा राम्रो लगाउने भन्दा पनि केटाकेटी कसरी बचाउने भन्ने चिन्ता रहेको छ। चिसो भुइँमा बसेर दैनिक जाल बुन्दै अनि हरेक परिवारलाई कसरी पाल्न सकिन्छ भन्ने चिन्ता उनीहरुको हुन्छ।
रुकुमका बादी परिवारलाई यसपटकको दसैँले कत्ति पनि छोएन।
उनीहरुलाई न दसैँ आयो, न दसैँ आएकोमा खुसी नै। नदीको किनारमा बस्दैआएका बादी परिवारको वासस्थान वर्षात्को भेलले बगाएपछि विगत १० महिनादेखि ओढारमा बस्दैआएका उनीहरु पहिले नदीको छेउमा बस्दैआएका थिए। नदीको किनारमा बस्दैआएको बादी परिवारको दशकौं भयो तर उनीहरुका लागि हालसम्म पनी स्थायी बसोवासको ठेगान छैन।
पुर्खादेखि बस्दैआएको परम्परा अझै कायमै राखेको बताउँछन् नाइके उजिरे बादी। २१आँै शताब्दीमा धेरै परिवर्तन आएको छ। देशमा राजतन्त्र फालेर गणतन्त्रको स्थापना भए पनि जङ्गली मान्छेको रुपमा बस्नु कस्तो अवस्था हो? भुइँको चिसो र टहरामुनिको बासबाट कत्ति पनि बिचलित भएका छैनन् बादी परिवार।
दसैँको बेलामा सबैको घरघरमा राम्रो लुगा लगाउने र मीठो खाने भए पनि रुकुम छिबाङका बादी परिवारमा साँझ र बिहानको छाक कसरी टार्न सकिन्छ भन्ने चिन्ता दैनिकरुपमा बढ्दै गइरहेको छ।
बिहान ४ बजे नै माछा मार्नका लागि पासा, जाल समाएर नदी र खोलातिर जानुपर्ने बाध्यता रहेको छ। तीस जनाको परिवार ओडारमा र त्रिपालमा बस्दा काम गरेर पाल्ने दुईजनामात्र रहेका छन्।
ती परिवारमा दसैँमा राम्रो लगाउने भन्दा पनि केटाकेटी कसरी बचाउने भन्ने चिन्ता रहेको छ। चिसो भुइँमा बसेर दैनिक जाल बुन्दै अनि हरेक परिवारलाई कसरी पाल्न सकिन्छ भन्ने चिन्ता बढेको बताउँछन् २१ वर्षीय राजन नेपाली।
थोरै मागेको पिठोको रोटी बनाएर खाएको बताउने उनीहरु परिवारका मुली कतिबेला माछा मारी चामल किनेर ल्याउलान् भनेर कुरिरहेका हुन्छन्।
ओडारमा बस्नेको त चुलोमा आगो नै बलेको थिएन। बासी माछामा भिँ्कगा भन्किरहेका देखिन्थे। बच्चाहरु मात्रै भएका परिवार त आमाबुबाले कतिबेला खानेकुरा ल्याउलान् र खाउँला भन्दै पर्खिरहेका थिए।
उनीहरुले दसैँ बाटोमा हिँडिरहेका बटुवाबाट मात्र थाहा पाएको बताउँथे।
नदीछेउमा बसोवास गर्ने धेरै बादीहरु दसैँको रहर कहिल्यै पूरा नभएको बताउँछन्। रुकुमका छिबाङ, गरायला पुर्तिमकाँडा, घेत्मा, कोटजहारी, बिजेश्वरी, पिपल शोभा, आठबिसकोट, खोलागाउँ, नुवाकोटलगायतका दुई दर्जन बढी गाविसमा फिजिएर बसेका बादी परिवारको पुर्ख्यौली पेसा सङ्कटमा परेपछि उनीहरुलाई बाँच्नसमेत कठिन परेको बताउनुहुन्छ बादी जातिबाट संविधानसभामा नेकपा माओवादीको समानुपातिक सूचीमा परेका पुष्प बादी।
उहाँ थप्नुहुन्छ— ‘अरुहरु सबै सडकमा ओर्लिएर आन्दोलन गर्छन्, अधिकार माग्छन् तर हामीलाई भने छाककै समस्या छ।’
‘गाउँमा मागेर कसैले दिँदैन, हामीले निर्माण गर्ने मादल, सुल्पालगातका सामान अन्य क्षेत्रबाट आएपछि हाम्रो पेसा सङ्कटमा परेको छ।’ भन्नुहुन्छ छिबाङकै सैजने बादी। आफ्नो छाक र वासको समस्या व्यक्त गर्दै सैजनेले थपे …पहिलेको जस्तो मागेर खाने चलन हटिसक्यो हामीसँग बास बनाउने जग्गा पनि छैन।’ उनको भन्दा फरक छैन पीडा त्यहीँ बस्तीका नरेश बादीको पनि।
उहाँले भन्नुभयो— ‘नदीको छेउमै बसेर रात काटनुपर्छ, रातमा माछा लागे पेट भरिन्छ नत्र त भोकै बस्ने बानी भइसकेको छ।’ रुकुमका विभिन्न ठाउँमा बसोवास गर्ने बादी परिवारको कसैसँग तथ्याङ्कसमेत छैन।
नेताहरु संविधानसभाको चुनावमा हात जोर्दै आउँथे तर संविधानमा समेटनुपर्ने कुराहरु सोध्न कोही पनि नआएको उनीहरु बताउँछन्।
देशमा धेरै परिवर्तन आएको कुरा उनीहरु स्वीकार्न चाहँदैनन्। धेरै परिवर्तन आए पनि आफूहरु यसरी नदीको किनारमा बस्दा कसैले सोध्नसमेत आएको छैन।
सोही बस्तीका रामलाल बादी भन्नुहुन्छ— ‘हाम्रो बाध्यता छ, हामीसँग जग्गाको नाममा लास बिछ्याउनसम्म पनि ठाउँ छैन।’ गोजीमा एक कौडीसम्म नभएको बेला आएको दसैँलाई कसरी दसैँ आयो भन्नु र? भन्दै प्रतिप्रश्न तेर्स्याउँछन उनीहरु। अन्य जातिझँै आफूहरु पनि खेतीपाती गरेर खान सक्ने उनीहरुको दाबी छ।
केही आक्रोशित मुद्रामा सैजनेले प्रतिप्रश्न गर्दै भन्नुभयो— ‘पहिला जग्गा मात्र पाउँ त गरेर खान सकिन्छ कि सकिँदैन।’ अरुजस्तै काम गरेर खान सक्छाँै भन्ने हिम्मत भएको उनीहरु बताउँछन्।
रुकुम जिल्लामा दलित अनि पिछडिएका वर्गको लागि आएको करोडौँ रकम कुन ठाउँमा प्रयोग भइरहेको कसैलाई पनि थाहा छैन। सदरमुकामदेखि आधा घण्टा पैदल दूरीमा रहेका बादी परिवारको यो सङ्ख्यालाई कसैले एक सुका राहातसमेत दिएको छैन।
गरिबका नाममा धैरै संस्था खोल्नेको होडबाजीमा रहेका व्यक्तिहरुको ध्यान यस्ता धेरै परिवारमा कहिले पुग्ला ?
रासस

0 comments:

Post a Comment