Pages

Subscribe:

Rukum

.

Friday 11 December, 2009

दोषीमाथि तत्काल कारबाही ः महासंघ

काठमाडौ, २०६६ मंसिर २५ - नेपाल पत्रकार महासंघले रुकुमकी पत्रकार टीका बिष्टमाथि सांघातिक आक्रमण गर्ने अपराधी पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ । तत्काल अपराधी पत्ता लगाउन दबाब दिँदै महासंघले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि ४५ मिनेट धर्ना दिएर विरोध प्रदर्शन गर्‍यो ।
मुलुकमा श्रमजीवी पत्रकारहरू असुरक्षित भएको भन्दै महासंघले बिष्टका अपराधीलाई कारबाही नगरेसम्म चरणबद्ध रूपले आन्दोलनमा उत्रने जनाएको छ । पत्रकार बिष्टलाई अज्ञात समूहले मंगलबार दिउँसो नियन्त्रणमा लिई चरम यातना दिएको थियो ।
महासंघका अध्यक्ष धर्मेन्द्र झाले राज्य अनुत्तरदायी भएकाले विडम्बनापूर्वक आफूहरू मानवअधिकार दिवसका अवसरमा पत्रकारको सुरक्षा माग्दै विरोध प्रदर्शन गर्न बाध्य भएको जनाए । दण्डहीनताका कारण अपराधीले राजनीतिक संरक्षण पाएको बताउँदै राजनीतिक पूर्वाग्रह नराखी घटनाको छानबिन गर्न उनले आग्रह गरे ।
'४८ घन्टा बितिसक्दा पनि सरकारले घटनामा संलग्नलाई कारबाहीको घेरामा ल्याउन सकेको छैन,' झाले भने, 'तर पनि निर्लज्जतापूर्वक भनिरहेको छ, 'हामी अनुसन्धान गरिरहेका छौं, बिष्टको उपचार खर्च सरकारले बेहोर्नेछ ।' सरकारले खर्च गरेर मात्र पत्रकारको मनोबल उच्च नहुने उनले बताए ।
माओवादी पोलिटब्युरो सदस्य जर्नादन शर्मा प्रभाकरले जुनसुकै पार्टीको भए पनि अपराधीलाई हदैसम्मको कारबाही गरिनुपर्ने बताए । उनले भने, 'यो घटनाले सरकारी वा राजनीतिक संरक्षण पाउनु हुँदैन ।'
पत्रकार बिष्टमाथि भएको घटनाको भत्र्सना गर्दै बिहीबारै दक्षिण एसियाली पत्रकार महिला सञ्जाल -स्वाम), साफ्मा नेपाल, आदिवासी जनजाति पत्रकार संघ, क्रियाशील पत्रकार महिला लगायतका संस्थाले विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । देशमा पत्रकार महिलाको संख्या न्यून रहेको र लामो समयसम्म पत्रकारितामा महिलाको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको अवस्थामा एकपछि अर्को गर्दै पत्रकार महिलामाथि भएका यस्ता घटनाले नकारात्मक असर पार्ने स्वामको विज्ञप्तिमा भनिएको छ ।
महासंघले बिहीबारै समयमै संविधान निर्माण गर्नका लागि दबाब दिन देशव्यापी रूपमा संकलन गरेको हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाएको छ ।

पत्रकार बिष्टको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं -कास)- नकावधारी समूहको मंगलबार सांघातिक आक्रमणमा परेकी रुकुमकी पत्रकार टीका बिष्टको स्वास्थ्यमा सुधार देखिएको छ । दुई दिनदेखि बेहोस अवस्थामा रहेकी बिष्ट बिहीबार होसमा आइन् ।
उपचारमा संलग्न हाडजोर्नी शल्यचिकित्सक शिक्षाप्रकाश श्रेष्ठले ७२ घन्टा नभई उनको स्वास्थ्यबारे केही भन्न नसकिने बताएका छन् । 'टाउकाको सिटिस्क्यानको रिपोर्टमा माइनर क्र्याक देखिएको छ,' श्रेष्ठले भने, 'हिजो लामो समय बेहोस भएकाले ७२ घन्टापछि चक्कर लाग्न र बान्ता पनि हुन सक्छ ।' होसमा भए पनि दिसापिसाब राम्ररी हुन सकेको छैन । चिकित्सकले भने, 'पाइप लगाएर मात्र युरिन पास भइरहेको छ ।' बिष्टको अल्ट्रासाउन्डको रिपोर्ट आउन बाँकी भएकाले उनको स्वास्थ्यस्थितिबारे बोल्न नसकिने बताएका हुन् ।
अन्य मेडिकल जाँचमा घाइतेको पाखुरा र तिघ्रामा असर देखिएको उनले बताए । घाइतेलाई पिटेर यातना दिइएकाले जीउभरि नीलडाम रहेको बताउँदै उनले भने, 'हातखुट्टाका मांसपेशीहरूमा बढी असर देखिएको छ ।'
होसमा रहेकी बिष्टले बोल्दा टाउको दुख्ने बताएकी छन् । बिहीबार कुराकानी गर्न खोज्दा 'बोल्यो भने टाउको दुख्छ' मात्र भनिन् । हिजोभन्दा केही सुधार भएको बिष्टका दाजु उदयकुमार बिष्टले बताए । 'आज बिहानैदेखि होसमा छिन्, मान्छे चिन्छिन् ।' तीन दिनदेखि केही नखाएकी बिरामीले थोरै झोल कुरा खाएकाले चाँडै निको हुने आशा गरेको उनले बताए ।
तर बिरामीलाई बोल्न अप्ठ्यारो भइरहेको बताउँदै उनले भने, 'उनलाई बोल्दा अप्ठ्यारो भइरहेको छ, खालि टाउको दुख्यो मात्र भन्छिन् ।' हाल पत्रकार महासंघले उनको उपचार खर्च बेहोरिरहेको पनि बिष्टले जानकारी दिए ।
Source: Kantipur

0 comments:

Post a Comment