Pages

Subscribe:

Rukum

.

Tuesday 8 December, 2009

जडिबुटीको सही मूल्यांकन हुन सकेन

रुकुम जिल्लाको सन्दर्भमा जडिबुटीको सम्भावना हुँदाहुँदै पनि यसको उचित संरक्षण र सम्बद्र्धन हुन सकेको छैन । सिस्ने हिमालको काखमा अवस्थित जडिबुटीको धनी र सम्पन्न जिल्ला मानिन्छ रुकुम । यस जिल्लामा दुर्लभ र मूल्यवान् अति उपयोगी एवं लोकपि्रय विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन । तर विडम्बना नै मान्नुपर्छ हाम्रा यी अमूल्य जडिबुटीको सदुपयोग हुन सकेको छैन महत्व बुझ्न अझै सकिएको छैन । रुकुम जिल्लाका मूल्यवान् जडिबुटीहरु त्यसै खेर गइरहेका छन् भने कतिपय जडिबुटीहरु एकदमै कम मूल्यमा बाहिरिएका छन् । तर तिनै जडिबुटीबाट बनेका विदेशी औषधीहरु किन्न लाखौँ रुपैयाँ खर्च भइरहेको छ । यस जिल्लाको केही जडिबुटीहरु दलालको माध्ययमबाट निकै सस्तो मूल्यमा विक्री वितरण भइरहेको छ ।
रुकुम जिल्लामा पाइने जडिबुटीमा यार्चागुम्बा पाचाऔँले कटुकी चिराइतो सर्पगन्ध देवदार जटामसी भलायो असुरो सुगन्ध कोकिला रिठ्ठा शिलाजीत कस्तुरी पाखनबेदजस्ता दुर्लभ जडिबुटीहरु पाइन्छन् । यहाँ पाइने जडिबुटीहरुको आर्थिक महत्वका बारेमा स्थानीय उपभोक्ताहरु अहिलेसम्म अनविज्ञ नै छन् । प्रशस्त मात्रामा स्थानीय वैद्यहरु रहेकाले जिल्लामा करिब दुई तिहाई जनसंख्या स्वास्थ्य उपचार आयुर्वेदिक चिकित्सा पद्धतिमा नै निर्भर रहेका छन् । जिल्ला विकास समिति रुकुमको एक तत्याङ्कअनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडिबुटीहरुमा यार्चागुम्बा कुरिलो जस टिमुर रिठ्ठा सेतरवाजरा जटामसी भलायो बुकी फुल दालचिनी अमला तितेपानी पाचाऔँले सुगन्ध कोकिला तिते कालादाना साधारण झ्याउ आदि रहेका छन् ।
जिल्लामा पाइने जडिबुटीहरु अत्यन्तै दुर्लभ एवं अमृततुल्य मानिएका यार्चागुम्बा पाचाऔँले कस्तुरी शिलाजीत आदि दिनप्रतिदिन दुर्लभ भइरहेका छन् । जिल्लाका हुकाम मैकोट जाङ्ग र सिस्ने गाविस यार्चागुम्बा पाइने क्षेत्र हो । वास्तवमा भन्ने हो भने रुकुमजस्तो विकट जिल्लामा पाइने जडिबुटीहरु अवैध बिक्री वितरण भइरहेका छन । जडिबुटीको चोरी निकासी भइरहेको छ । यसको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । जडिबुटी खेतीलाई प्रोत्साहन गरी उसको खेतीलाई सामाजिक अभियानको रुपमा साचालन गर्दै जडिबुटीको भण्डारणलाई सम्बर्धन र संरक्षण गर्न हामी सबैको दायित्व हो । रुकुमजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्ने हो भने तत्कालैदेखि एक स्पष्ट गुरुयोजना बनाई कार्यान्वयन गर्नुपर्नु बताउँछन् स्थानीय बुद्धिजीवीहरु ।
रुकुममा जडिबुटी विकास सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायबाट पहल गरिए तापनि संरक्षण र सम्बर्धनका लागि खासै कुनै पनि प्रयास भएको देखिँदैन । रुकुमका वासिन्दाहरुलाई जडिबुटीको महत्वबारे जनचेतना नहुनु संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मूल्य नपाउनु जडिबुटीको परिणाम यकिन नहुनु जिल्लाको दुर्गम क्षेत्रमा अमूल्य जडिबुटी पाइनु संकलन गर्न उचित समय तथा संकलन विधि थाहा नहुनुजस्ता समस्याहरु रहेका छन् । एकातर्फ दुर्लभ र महत्वपूर्ण जडिबुटीहरुलाई संरक्षण र सम्बर्धन गर्न आवश्यक छ भने अर्कोतर्फ प्रशोधन केन्द्रको स्थापना गरी जडिबुटी तथा लघुवन पौदावारको माध्यमबाट रोजगारका अवसरहरु सृजना गर्नुपर्ने स्थानीय वासिन्दाको भनाइरहेको छ ।
सम्बन्धित निकायले यसको लागि जनचेतना वृद्धि गराउनुका साथसाथै व्यवस्थित रुपमा संकलन र खेतीसम्बन्धी प्रविधि विकासको आवश्यक छ । कुन जडिबुटी महत्वपूर्ण छ पारिश्रमिक र लगानी कति छ र दिगो रुपमा कसरी निरन्तरता दिन सकिन्छ । यस विषयमा कुनै संरक्षण हुन सकेको छैन । सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक स्रोतको संरक्षण जडिबुटीको व्यवस्थापन र उसलाई निरन्तरता दिँदै व्यवस्थित रुपले संकलन तथा खेती विस्तार गरी अत्याधिक मात्रामा आयआर्जनको वृद्धि गरी जडिबुटी विकासलाई बढाउँदै लैजानु रुकुम जिल्लाजस्तो न्यून आय भएको समुदायको आर्थिक अवस्था सुधार्नमा केही टेवा पुग्ने थियो कि !
Source:Yuba Bahas

0 comments:

Post a Comment