Pages

Subscribe:

Rukum

.

Thursday 2 December, 2010

उम्मेदवार हुन पाइन्न

कमल थापा, रुकुम,मंसिर १७- रुकुममा गठन भएका पत्रकारहरुका संगठन र पत्रकारहरुले घरमा शौचालय नबनाएका पत्रकारलाई आगामी माघमा हुने नेपाल पत्रकार महासंघ रुकुम शाखाको निर्वाचन उम्मेदवारी दिन नपाउने निर्णय गरेका छन्।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, एमालेसमर्थित प्रेस चौतारी नेपाल, कांग्रेससमर्थित नेपाल प्रेस यूनियन र माओवादीसमर्थित क्रान्तिकारी पत्रकार संघको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो।
जिल्ला खानेपानी कार्यालयको आयोजनामा भएको भेलामा उनीहरुले यस्तो निर्णय गरेका हुन्। घरघरमा शौचालय निर्माण गर्ने र शौचालयको प्रयोग बढाउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको हो।
'घरमा शौचालय नहुने पत्रकारहरुलाई महासंघको निर्वाचनमा भाग लिन नदिने सहमति भएको छ,' नेपाल पत्रकार महासंघ रुकुम शाखाका सभापति नारायण शाहले भने, 'पत्रकारहरुबाटै शौचालय बनाउने अनिवार्य अभियान चलाउँदा समाजमा सकारात्मक सन्देश जाने र सर्वसाधारणले पनि अनुसरण गर्ने हुँदा यस्तो बाध्यकारी निर्णय गरिएको हो।'
महासंघ, चौतारी, युनियन र क्रान्तिकारीका प्रमुखहरुले नै निर्णयमा सहमति गरेकाले कसैले पनि विरोध गर्ने पाउने छैनन्।
निर्वाचनमा उम्मेदवार बन्नको लागि कसैले शौचालय भएको झुठा दाबी गर्न नपाओस् भन्नको लागि पत्रकारहरुको घर-घरमा अनुगमन गरिने भएको छ। घरमा शौचालय भएको झूठो विवरण पेश गरेर उम्मेदवार भएमा साधारण सदस्यताबाटै निष्काशन गर्न समेत सकिने क्रान्तिकारी पत्रकार संघका अध्यक्ष ध्रुब बुढाथोकीले वताए। 'निर्वाचनको एक महिनाअघि पत्रकारहरुका घरका शौचालय अनुगमन गरिने छ,' अध्यक्ष बुढाथोकीले भने,'नैतिक संकटबाट पार पाउन र समाजको शरमले पनि शौचालय बनाउन सघाउ पुग्ने छ।'
सबैभन्दा राम्रो र छिटो शौचालय बनाउने पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने जिल्ला खानेपानी कार्यालयका इन्जिनियर प्रेमप्रसाद डोटेलले बताए।

0 comments:

Post a Comment