Pages

Subscribe:

Rukum

.

Monday 20 September, 2010

स्यार्पु चिनाउने प्रयास

माओवादी सशस्त्र द्वन्द्वताका रुकुमको नाम सुन्दै राजधानीवासीको ज्यान सिरिंग हुन्थ्यो । जीवनका कुनै कालखण्डमा त्यहाँ जान नपरोस् भनेर धेरैले प्रार्थना पनि गर्थे उतिबेला । १० वर्षे सशस्त्र युद्धको उद्गम मानिने मध्यपश्चिमाञ्चलको त्यही रुकुम अहिले पर्यटकीय गन्तव्य बन्न हरतरह प्रयास गर्दैछ ।
भौगोलिकरुपमा विकट, आर्थिकरुपमा विपन्न तर प्राकृतिकरुपमा अनुपम र लोभलाग्दो यो जिल्लाका कैयौं स्थानले धेरैलाई मोहित पार्ने क्षमता राख्छन् । त्यसैले हुनसक्छ– यतिखेर सिंगो रुकुम पर्यटक तान्ने हरसम्भव तरिका अपनाउँदैछ । स्यार्पुताल, कमल दह, पुथा हिमाल, सामझाङ हिमचुली, सिस्ने हिमाल, तातोपानी मूललगायत दर्जनौं प्राकृतिक छटाले भरिपूर्ण ठाउँलाई विश्वभर चिनाउन रुकुमेलीलाई भ्याइनभ्याइ छ । धेरैले बिर्सिए पनि यो अद्यापि ५२ पोखरी ५३ तालको धनी छ ।
नेपाललाई ‘पर्यटन हब’ बनाउन केन्द्रीयस्तरबाट पर्यटन वर्ष २०११ को तयारी चरमचुलीमा रहँदा यहाँका जनताले ऐतिहासिक स्यार्पुतालको नामबाट महोत्सव आयोजना गर्दैछन् । जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट उत्तरमा पर्ने स्यार्पुताल समुद्री सतहदेखि १३ सय २५ फिट उचाइमा छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो तालको कञ्चन जलाशय, उत्तरी पहाडबाट बग्ने सुन्दर झरना र खोलाको अवलोकन गर्न सकिन्छ ।
‘स्यार्पुताल महोत्सव’मा २ हजार ११ वटा राष्ट्रिय झन्डा फहराइने भएको छ । पर्यटन वर्ष सफलताको शुभेच्छासहित तालवरिपरि रहेको चक्रपथ गोरेटोमा महोत्वसका सहभागी विद्यार्थी, शिक्षक, खेलाडी, कलाकारसमेत २ हजार ११ जनाले मार्च गरी झन्डा फहराउनेछन् । विश्व पर्यटन दिवसको अवसर पारी असोज ११ देखि १५ गतेसम्म चल्ने महोत्सवका लागि ६३ लाख रुपैयाँ खर्च गरिँदैछ ।
सदरमुकामबाट स्यार्पुताल पुग्न साढे २ घण्टाको पैदलयात्रा गर्नुपर्छ । यात्राका क्रममा सानोभेरीलाई संगी मान्दै तिरैतिर हिँड्दा कम्ती आनन्द हुँदैन । सानोभेरीको किनारामा रहेका राउखेत, छिनखेतजस्ता उर्वर भूमिमा लगाइएका धानबालीको बीच बाटो हुँदै उकालिँदा झन्डै हिमाली पाटन पुगेको भान हुन्छ । र, छेउमै देखिने दहीखोलाको रौनक पनि उस्तै छ । तालको पानी भूमिगतरुपमा बगेर बाह्रमासे दहीजस्तै सेतो देखिने भएकाले यसलाई दहीखोलाको उपमा दिइएको छ । स्यार्पुताल पुग्दासम्मै यसको रौनक मनभरि सँगाल्न सकिन्छ ।
स्यार्पुतालबाट ४५ मिनेट पैदलयात्रा गरेपछि उत्तरतिरका सिमैछरी र कोप्रा झरना तथा जलाधार क्षेत्र पुगिन्छ । उराठलाग्दा पहरा, माछा, हाँस, जलेवा, सर्प आकारको विशाल पहरा र बासताछे सजिलै देखिन्छ यहाँबाट ।
वर्षात्का कारण हिजोआज गाडी बन्द भए पनि महोत्सवका लागि सदरमुकामबाट जिप र ट्र्याक्टर चलाइने महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रबहादुर केसीले बताए । छिनखेत स्यार्पुतालबाट करिब एक घण्टाको दूरीमा पर्छ ।
हवाई तथा स्थल यातायातबाट रुकुम सदरमुकाम मुसिकोट पुग्न सकिन्छ । सल्ले र चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमले काठमाडौंबाट सातामा दुई दिन उडान भर्छ भने बसबाट दैनिक यात्रा गर्न सकिन्छ । नेपालगन्जबाट पनि हवाई तथा बस यात्राबाट रुकुम पुग्न सकिन्छ । काठमाडौंबाट हवाई यात्रामार्फत स्यार्पुताल पुग्न दुईतर्फी हवाई भाडा र खान बस्न १५ हजार रुपैयाँ खर्च हुन्छ । यति खर्च गर्ने हो भने तीन दिन आरामसँग बिताउन सकिन्छ । बस यात्राबाट जाँदा ८ हजार रुपैयाँमा पाँच दिन रमाइलोसँग बिताउन पाइन्छ ।
पर्यटन वर्ष तथा स्यार्पु महोत्सवमा आउने पर्यटकका लागि ‘होम स्टे’ व्यवस्थासमेत गरिएको छ । पर्यटकले घरायसी वातावरणमा न्यानो माया पाउनेछन् । बाँफीकोट गाविसमा पर्ने ताल वरिपरि बस्ती छ । तालबाट निकास हुने पानीबाट स्यार्पुवासीले विद्युत् सुविधा पाएका छन् । यहाँ आउने पर्यटकले स्थानीय लोपोन्मुख परम्परागत कला, साहित्यको अनुभवसमेत गर्न सक्नेछन् ।
महोत्वसको भौतिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक कार्य ८० प्रतिशत सकिसकेको छ,” संयोजक केसीले भने । उनका अनुसार मञ्च, ताल र चक्रपथको गोरेटो बाटो बनाइस्किएको छ भने छिनखेतबाट तालसम्म आउने गोरेटो निर्माण ७५ प्रतिशत सम्पन्न भएको छ ।
नेपालको एकमात्र सिकार क्षेत्र ‘ढोरपाटन सिकार आरक्ष’ समेत रुकुममा छ । २०३९ सालमा स्थापित आरक्षमा सयौं जातका वन्यजन्तु, वनस्पती, जडिबुटी पाइन्छन् । सदरमुकामबाट ४० कोस पूर्वउत्तर दिशामा अवस्थित यो आरक्ष पुग्न हेलिकप्टरबाहेक पैदलमार्ग नै विकल्प हो । बाँफीकोटमै रहेको गादीघर बुरालमष्ठ मन्दिर पनि पर्यटकीय दृष्टिले उपयुक्त मानिन्छ । १९८८ सालमा निर्माण गरिएको प्राचीन प्रसिद्ध मन्दिरमा वैशाख पूर्णिमा, ऋषिपूर्णिमा, कात्तिक पूर्णिमा र माघे पूर्णिमामा मेला लाग्नेगर्छ । त्यसबाहेक रुकुमको खारा टपबाट १९ जिल्लाका विभिन्न हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटन वर्ष मुलुककै पर्व भएकाले महोत्वस मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए । “यसअघि यहाँका पर्यटन गन्तव्य र पर्यटन प्रवद्र्धनबारे हामीलाई खासै जानकारी थिएन, पर्यटन वर्षको अवसरलाई ध्यानमा राख्दै हामी अघि बढ्न लागेका हौं,” उनले भने ।
महोत्सवका लागि केन्द्रीयस्तरमा नेपाल पर्यटन बोर्डले सहयोग गर्दै आएको छ । स्थानीय पर्यटकीय स्थानको प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न बोर्ड सफल भएको प्राकृतिक सम्पदा विकास अधिकृत सूर्य थपलियाले बताए । “रुकुमका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्तराष्ट्रियस्तरसम्म पहल चालेका छौं,” उनले भने ।
पर्यटन गन्तव्य पहिचानका लागि रुकुम पुगेका थपलियाले रुकुम मध्यपश्चिमकै नमुना गन्तव्य बन्नसक्ने बताए ।
द्वन्द्वकालको ‘लालकिल्ला’ अहिले पूरै शान्तिकिल्लाका रुपमा बदलिएको अनुभूति जोकोहीले गर्नसक्छ । जिल्लाभरि १७ वटा प्रहरी चौकीबाट सुरक्षा अवस्था मिलाइएको डीएसपी होमजंग चौहानले बताए । “पर्यटकका लागि सुरक्षाको चिन्ता छैन,” उनले भने, “ढुक्कसाथ छाती फुलाएर हिँडे हुन्छ ।”
By Prakash Shah

0 comments:

Post a Comment