Pages

Subscribe:

Rukum

.

Wednesday 12 January, 2011

रुकुम बाउन्न पोखरी त्रिपन्न टाकुरी

गन्तव्य - कोपिला अधिकारी
माओवादी विद्रोहको उद्गमस्थल रुकुममा युद्धका घाउ मात्र छैनन्, मन बहलाउने अत्यन्तै सुन्दर गन्तव्यहरू पनि छन् । अहिलेसम्म व्यवस्थित रूपमा पर्यटनको विकास हुन नसके पनि प्रकृतिको नबिग्रिएको रूप हेर्न रुकुम उत्कृष्ट गन्तव्य हो । स्यार्पु ताल, तालको उत्तरमा रहेको सिमैछरी (झरना), बौलाह छरी, झार्लेबोटको रमणीय जङ्गगल, स्यार्पु तालबाट बगेर गएको दही खोला रुकुमका आकर्षण हुन् ।
पौराणिक भनाइअनुसार भीमसेनले बासोले ताछेको बासताछे पहरा, भीमसेनले नै छेलो हानेको ढुङ्गा, सर्पले चाटेको पहरालगायतका रमणीय स्थानको अवलोकन गर्न सकिन्छ त्यहाँ । स्यार्पु तालमा डुङ्गा चढेर सयर गर्न सकिन्छ भने भ्यूटावरबाट स्यार्पुतालको सम्पूर्ण अवलोकन गर्न सकिन्छ । यति मात्र हैन तपाईंले त्यहाँ सिस्ने हिमाल, कमल दह, देउराली गुफालगायतको अवलोकन गरी भरपुर आनन्द लिन सक्नुहुन्छ । 'बाउन्न पोखरी, त्रिपन्न टाकुरा'को जिल्ला रुकुमले पर्यटकहरूलाई साँच्चै आनन्द प्रदान गर्छ ।
रुकुमको सदरमुकाम मुसीकोटबाट साढे तीन घण्टाको यात्रा तय गर्दा रुकुमकोट पुगिन्छ, जहाँ ५२ पोखरी र ५३ टाकुरी (थुम्का) रहेका छन् । वास्तवमै यो ठाउँ अत्यन्तै मनमोहक रहेको छ । त्यहाँ रहेका पोखरीहरूमा फागुन-चैतमा कमल फक्रिएका हुन्छन् । त्यस समय कमलका पोटा (गुभा) खान पाइन्छ ।
रुकुम जिल्लाको सदरमुकाम मुसीकोटदेखि चार कोस उत्तरपूर्वमा पर्ने स्यार्पु ताल बाफीकोट गाविसको ३, ७ र ९ वडाको बीचमा पर्छ । चारैतिर डाडापाखाले घेरिएको यो ताल निकै आकर्षक छ । २ दशमलव ६ वर्गकिमी क्षेत्रफलमा फैलिएको तालको गहिराइ वर्षात्को समयमा २३ मिटरसम्म हुने गर्दछ भने हिउँदमा १८ मिटरमा खुम्चिन्छ ।
रुकुमको पर्यटन प्रवर्द्धनका लागि असोज ११ देखि १५ गतेसम्म स्यार्पु महोत्सवको आयोजना गरिएको थियो । महोत्सवले रुकुमको पर्यटन प्रवर्द्धनलाई निकै सहयोग पुर्‍याएको स्यार्पु पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रबहादुर केसीले बताए । तर, रुकुमेलीलाई होम स्टे सञ्चालन तथा आतिथि सत्कारसम्बन्धी तालीमको आवश्यकता रहेको उनले बताए । अबको १० वर्षमा रुकुमलाई उत्कृष्ट पर्यटन क्षेत्र बनाउने लक्ष्य लिएका छन् उनीहरूले । रुकुमेलीहरूको युद्धको घाउमा मल्हमपट्टी लगाउन पनि तपाईंले एकपल्ट रुकुम जानैपर्छ ।

कसरी जाने रुकुम ?
काठमाडौंबाट डेढ घण्टाको हवाई यात्रापछि रुकुमको सदरमुकामस्थित सल्लो विमानस्थल पुगिन्छ । त्यहाँबाट स्यार्पुताल पुग्नका लागि २ घण्टा टाटासुमोको यात्रा गर्नुपर्छ । त्यसपछि छिमखेत, सोलावाङ हुँदै ८ घण्टाको उकालो चढेपछि स्यार्पु ताल पुगिन्छ ।

बसबाट
काठमाडौँको नयाँ बसपार्कबाट दाङ हुँदै रुकुमको सदरमुकाम मुसीकोटसम्म बसमा जान सकिन्छ । त्यसपछि उल्लिखित टाटा सुमो र पैदल यात्रा शुरु हुन्छ ।

बसोबास
रुकुमको सदरमुकाम मुसीकोट खलङ्गामा साधारण होटलहरू रहेका छन् । स्यार्पुताल क्षेत्रमा भने स्थानीय बासिन्दाको घरमा पेइङ गेष्ट भएर बस्नुपर्ने हुन्छ ।

खर्च कति लाग्छ
१) काठमाडौंबाट मुसीकोटसम्म हवाइभाडा ३ हजार ७ सय ७५ रुपैयाँ वा बसभाडा १ हजार २ सय रुपैयाँ
२) होटलमा बसोबास, खाजा, खानासहित प्रतिदिन खर्च रु. ६ सय रुपैयाँ

0 comments:

Post a Comment