Pages

Subscribe:

Rukum

.

Thursday 11 August, 2011

रुकुम पुग्ने पर्यटकलाई राडीपाखी उपहार

फागुन २८, रुकुम (अस)। रुकुम जिल्ला घुम्न आउने पर्यटकलाई स्थानीय महिलाद्वारा तयार गरिएका राडीपाखी उपहार दिन थालिएको छ । जिल्लाको रन्मामैकोटका बासिन्दाले ढोरपाटन शिकार आरक्ष तथा बुकीपाटन घुम्न आउने पर्यटकलाई चिनोका रूपमा राडीपाखी उपहार दिन थालेका हुन् । सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षघोषणा गरेको अवसरमा जिल्ला भ्रमणमा पर्यटकलाई आकर्षित गर्न सो अभियान थालिएको उनीहरूको भनाइ छ ।

जिल्ला सदरमुकाम खलङ्गादेखि ४० कोष पूर्वमा रहेको मैकोट गाविसका बासिन्दाले होम स्टेको समेत व्यवस्था गरी पर्यटन प्रवर्द्धनमा सघाइरहेका छन् । ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार हो । सो आरक्षका मुख्य स्थानहरू दोगाडि, सेरेङखोला तथा सुनदह ब्लक मैकोट गाविसमा पर्छ । सो गाविसका बासिन्दाले पर्यटकलाई पहिलो दिनको खाना पनि निःशुल्क खुवाउने व्यवस्थासमेत गरेका छन् ।

सो गाविसलाई नमूना पर्यटकीय गन्तव्य बनाउनका लागि स्थानीय पर्यटकीय सम्पदा संरक्षण केन्द्र र पुपाल युवा क्लबका सदस्यहरू सक्रिय देखिएका छन् । केन्द्रका सचिव सुरवीन्द्र पुनका अनुसार नेपालको सबैभन्दा दुर्लभ मानिने हिमचितुवा, झारल, थार, रातो बाँदर, नाउरलगायतका वन्यजन्तु हेर्न ढोरपाटन र बुकीपाटनमा पर्यटक आउने गर्छन् । 'हामीले गाउँमा आउने पर्यटकलाई पहिलो दिनको खाना निःशुल्क दिने गरेका छौं, साथै जिल्लाको चिनोस्वरूप राडीपाखी उपहार दिने व्यवस्था पनि गरेका छौं,’ सचिव पुनले अभियानलाई बताए । ऐतिहासिक तथा रमणीय मगर बस्तीहरूमा पर्यटक भित्र्याउन यस्तो व्यवस्था गरिएको पर्यटक प्रचारप्रसार समितिका अध्यक्ष लजिन्द्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार मैकोटका युवाहरूले अहिले मुसीकोट-ढोरपाटन-डोल्पा पदमार्ग बनाउन सक्रियता बढाएका छन् ।

'गाउँमा पेल्पा दोभानस्थित तातोपानी, मैकोट गाउँ, बुकीपाटन तथा ढोरपाटनलाई समेटेर पर्यटकीय केन्द्र बनाउन सके कम्तीमा वार्षिक १० हजार पर्यटक भित्र्याउन सकिन्छ,' उनले भने । उनका अनुसार मैकोट गाउँवरपरका २ सय घरमा होम स्टेको व्यवस्था मिलाइएको छ । बुढाले ढोरपाटन र बुकीपाटन क्षेत्रमा वार्षिक १ हजार पर्यटक पुग्ने गरेको पनि बताए । केन्द्रका अध्यक्ष लजिम पुनका अनुसार दुर्लभ वन्यजन्तु र जडीबुटीका लागि प्रसिद्धि कमाएको मैकोट क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सरकारले विशेष ध्यान दिनुपर्छ । 'पर्यटक भित्र्याउन जति काम भएको छ, त्यो सबै स्थानीयवासीको सक्रियतामा भएको हो', पुनले भने । शिकार क्षेत्रमा आउने ६० प्रतिशत पर्यटक मैकोट क्षेत्रमा आउने गरेको स्थानीय व्यवसायी पूर्णबहादुर बुढाले जानकारी दिए । उनले भने, 'त्यसैले पर्यटकका लागि आकर्षक सुविधा दिन खोजेका छौं ।' उनका अनुसार मैकोट क्षेत्रमा रहेका घरमा एकछाक सादा खानाको सयदेखि ४ सय रुपैयाँसम्म पर्छ भने बस्नका लागि दिनको रू. ५ सय लिने गरिएको छ । स्थानीय वीरभान विकका अनुसार 'स्थानीय मगर संस्कृति, दुर्लभ वन्यजन्तु, बुकीपाटन क्षेत्रका ताल तथा हिमशृङ्खलाका कारण सो क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ ।' पेल्मा दोभानमा रहेको तातोपानीमा मात्र दैनिक १ सय आन्तरिक पर्यटक आउने गरेको पनि बिकको भनाइ छ ।


source : Abhiyan

0 comments:

Post a Comment