Pages

Subscribe:

Rukum

.

Thursday 5 August, 2010

परिवारै बगाएपछि बालिका एक्लै

नेपालगन्ज, साउन ६- गाउँमा दुखजिलो गरेर भए पनि छोरीलाई पढाउन सहरमा राखेका थिए डोल्पा, ल्हाँ गाविस- ५ करबगार्डका लालबहादुर रोकायाले। रोकाया परिवारलाई शनिबार राति साउने संक्रान्ति मनाएर सुत्न लाग्दा बाढीले बगाएपछि ती बालिकाको बिचल्ली भएको छ।

गाउँमा दुई-चार हजार रुपैयाँ जोगाड गरेर रोकायाले छोरी प्रतिभालाई नेपालगन्ज राझास्थित मुनतारा बोर्डिङ स्कुलमा पढाएका थिए। रोकायाका दुई छोरा भने गाउँकै स्कुल पढ्थे। छोरीलाई रुकुम चौरजहारीसम्म काँधमा बोकी जहाज चढाएर नेपालगन्ज पठाएका थिए। जहाज चढ्ने बेला साली र छोरीको हातमा पाँच/पाँच सय रुपैयाँ राखिदिँदै भनेका थिए, ‘राम्ररी पढ्नू।' बाढीले लगेको अघिल्लो दिनमात्र आमा मनकलाले फोनमा सम्झाएकी थिइन्, ‘बर्खाको भलले हाम्लाई झन्डै लगेन। तँ राम्रोसँग पढ्नू। अन्टीले भनेको मान्नू। पढिस् भने जे भन्छेस्, त्यै गर्दिम्ला।' प्रतिभा नेपालगन्जमै कक्षा ८ मा पढ्ने सानीआमा विष्णुकुमारी बोहरासँग बस्छिन्। साउने संक्रान्तिको रात बाढीले रोकाया दम्पती, बुबाआमा, नाबालक दुई छोरा, दुई वर्षकी काखे छोरी, बहिनी र ज्वाइँलाई बगाएको थियो।

दिनभरि घरअगाडिको खोलाले बगाएर ल्याएको माछा खाँदै उनीहरूले संक्रान्ति मनाएका थिए। परिवारै गुमेको थाहा नपाएकी प्रतिभाले अचम्मलाग्दा काम गर्न थालेको विष्णु बताउँछिन्। ‘सबै बितेकै रात उसले सुतेको बेला मलाई लात्तीले हानी, पछि उठ्दा नराम्रो सपना देखेँ भन्थी,' उनले बुधबार नागरिकसँग भनिन्, ‘आज बिहानै उठेर देउतालाई सेतो फूल चढाई, झिलिमिली बत्ती बाली। घरमा बुबाआमालाई फोन गरौं, भलले बगायो कि भन्छे।' एलकेजीकी प्रतिभालाई परिवारै बाढीले बगाएको थाहा दिइएको छैन। आफैं शोकमा डुबे पनि प्रतिभालाई अल्मल्याउन विष्णु आँसु लुकाउँछिन्, ‘रोऊँ भने थाहा पाउँछे भन्ने डर लाग्छ। नरोऊँ मन थाम्नै गाह्रो।'

0 comments:

Post a Comment