Pages

Subscribe:

Rukum

.

Friday 9 September, 2011

विद्युत्मा अनियमिताले समस्या

रुकुम, २२ भदौ

रुकुम जिल्लाको विद्युत् सेवा दुई दिनदेखि अनियमित बन्दै आएको छ ।

रुकुमेली विद्युत् उपभोक्ता समिति रुकुमले जलविद्युत् आयोजनाको मूल ठाउँमा रहेका २ नम्बर जेनेरेटरलगायतका मेसिनहरू जलेकाले यो समस्या आएको बताएको छ । केन्द्र प्रमुख रामबहादुर केसीका अनुसार दुईवटा मेसिनमध्ये एउटा मेसिन बिग्रिएकाले कामचलाउ भइरहेको बताए । समितिले सूचना टाँस गरी मेसिन मर्मतकार्य भइरहेको भए पनि कहिलेसम्म बन्छ भन्ने कुराको केही ठेगान नभएको बताएको छ । २ सय ५० किलोवाट क्षमताको स्यार्पुताल जलविद्युत् आयोजना रुकुमेली विद्युत् उपभोक्ता समितिले सञ्चालन गर्दै आएको छ ।

विद्युत् सेवा अनियमित बनेपछि विद्युत् सेवा उपभोग गरिरहेका सेवाग्राही मर्कामा परेका छन् । बत्ती आउने–जाने ठेगान नभएकाले समस्या आएको स्थानीय व्यापारीहरूको गुनासो छ । कम्प्युटर खोल्न नपाउँदै बत्ती जाने भएकाले समेत कम्प्युटर सिक्न आएका प्रशिक्षार्थी, साइबर सञ्चालनसँगै कम्प्युटरमा समेत समय समयमा खराबी देखिन थालेको साइबर सञ्चालक गणेश शर्माले बताए ।

विद्युत् समस्याले सञ्चार क्षेत्र पनि अछुतो छैन । जिल्लास्थित नियमित रूपमा प्रकाशन भैरहेका आधा दर्जनभन्दा बढी पत्रपत्रिका बन्द भएका छन् भने स्थानीय एफएम स्टेसनहरूले आफ्नो नियमित प्रसारण समय घटाएका छन् । रुकुमको बाँफिकोटस्थित स्यार्पुतालबाट उत्पादन गरिएको स्यार्पुताल साना जलविद्युत् आयोजना रुकुमको एकमात्र ठूलो विद्युत् आयोजना हो, जसबाट जिल्ला सदरमुकाम खलंगालगायत बाहिरी १० वटा गाविसमा समेत विद्युत् सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला सदरमुकाम मुसिकोट खलंगामा समय–समयमा विद्युत आउने–जाने गरे पनि बाहिरी १० वटा गाविसमा भने विद्युत्सेवा अवरुद्ध भएको छ, जसका कारण स्थानीय बासिन्दाहरू मोबाइल चार्जलगायतका अन्य रेडियो, टेलिभिजन हेर्नबाट समेत वञ्चित भएका छन् ।

समितिले आयोजना सुरुवातको समयमा जडान गरेका मेसिनहरू अहिलेसम्म फेरबदल नगर्दा समय–समयमा समस्या आउने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । तर, विद्युत् आपूर्तिमा समस्या आए पनि जेनेरेटरबाट कामकाज सञ्चालन गर्ने गरेका व्यापारीहरूका लागि भने मालामालको अवस्था छ । उनीहरूले महँगो शुल्क लिएर मोबाइल चार्जलगायत विभिन्न सेवा दिइरहेका छन् ।
Source : karobar Daily
०९ सेप्टेम्बर २०११

0 comments:

Post a Comment