Pages

Subscribe:

Rukum

.

Friday 9 September, 2011

पुल नहुँदा नदी तर्न ५० रुपैयाँ

रुकुम, भाद्र १५ -
सबैजसो गाविस भएर बग्ने सानीभेरी नदीका अधिकांश स्थानमा पुल नहुँदा यात्रीहरू खोला तार्न २० देखि ५० रुपैयाँ तिर्न बाध्य छन् । खलंगा-५ र झुला ९ को बीचमा पर्ने सानीभेरी नदी तर्दा यात्रीले ५० रुपैयाँ तिर्नुपर्ने नियम छ । दैनिक स्थानीय दसजनासम्म युवा खोलाको किनारमा बस्ने र नदी वारपार गराउँदा ५० रुपैयाँ लिने स्थानीय शिक्षक बालकृष्ण शर्माले बताए ।

उनका अनुसार सामान भए सय रुपैयाँसम्म लिने गरिएको छ । ठाँटीका युवाले बनाएको अस्थायी पुल बाढीले बगाएपछि आवतजावत गर्न समस्या भएपछि युवाले बटुवाबाट रकम असुल्ने गरेका हुन् ।

'दिनभरि खोलाले बगाएका काठदाउरा संकलन गर्ने र बटुवालाई खोला तराउने काम गरिरहेका हुन्छौँ ।' स्थानीय भूपेन्द्र चन्दले भने, 'आफैं खोला तर्न सक्नेलाई भने पैसा लिँदैनौं ।' दैनिक ५० देखि सय जनासम्मले रकम तिरेर खोला तर्ने गरेका छन् ।

त्यस्तै स्यालापाखा र पीपल गाविस जोड्ने पुल बाढीले भत्काएपछि नदी तर्नका लागि स्थानीयहरूले २० देखि ४० रुपैँयासम्म लिने गरेका छन् । स्थानीय कांग्रेस नेता नरजित बस्नेतका अनुसार दैनिक साठी जनासम्मले पीपल र स्यालापाखा वारपार गर्नका लागि सानीभेरी नदी तर्न रकम खर्चिनुपर्ने बाध्यता छ । उनले भने, 'पौडी खेल्न दक्ष स्थानीय युवाले बटुवालाई नदी तारिदिने गरेका छन् ।'

स्थानीयका अनुसार नदीमा पुल नहुँदा हुकामबाट जाङको अर्जल, गोतामकोटबाट जाजरकोटको सोभाभगवती लगायतका स्थानमा आउजाउ गर्न पौडी खेल्न नसक्ने बटुवाले रकम तिरेर तर्नुपर्ने बाध्यता छ ।

त्यस्तै पुर्तिमकाँडा र गरायला गाविस जोड्नका लागि सिएसपी नामक संस्थाले बनाएको तुइन बिगि्रएपछि दुई गाविस आवतजावत गर्न रकम तिर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: २०६८ भाद्र १६ कान्तिपुर

0 comments:

Post a Comment